मई दिवसका कविताहरू…

मई दिवसका कविताहरू…

मजदुर दिवस 

कर्ण विरह

 

 

 

 

 

 

तपाईंको

खेत फुट्नअधि

म मजबुत थिएँ मालिक!

 

अहिले तपाईंको खेत मजबुत छ

तर फुटेका छन् पटपट

मेरा कुर्कुच्चाहरू।

 

 

यसरी मैले मेरा यात्राको मासु छिलेर

तपाईंको खेतको घाउ भरेँ।

 

 

कुलोहरू नसुकुन् भनेर

हातका ठेलाहरू फुटाएर पीप बगाइदिएँ।

 

खड़ेरी नपरोस् भनेर

तपतप पसिनाका थोपाहरूले भिजाइदिएँ।

 

अहिले तपाईंको खेत जति भरिएको छ

त्यति नै रित्तो छ मालिक!

मेरो पेट।


यो थाप्लोमा नाम्लोमात्र अड़िन्छ भन्नहुन्छ तपाईं!

तर तपाईंको ठूलो टाउको

यै थाप्लोमा झुण्डिएर हिँड़्छ सधैँ मालिक!

 

यै थाप्लोमा झुण्डिएर मर्छ

हरेक दिन तपाईंको परिवारको भोक।

 

तपाईंको छोराको अङ्ग्रेजी स्कूलको किताबको ओजन

र मेरो छोराको आईसीडीएसको रित्तो थालको ओजन

 दुवै बराबर लाग्छ यो थाप्लोलाई।

 

जसरी पृथ्वी र नाम्लो

दुवै चेप्टो लाग्छ यो थाप्लोलाई।

 

तपाईंले जसरी मैले खाने भोजन

र तपाईंले खाने भोजन छुट्याउनुहुन्छ

त्यसरी नै तपाईं र मेरो भोक छुट्याउन सक्नुहुन्न।

 

तपाईंको कारखानाबाट उड़ेको कालो धुवाँ

अथवा तपाईंको सिगरेटबाट उड़ेको सेतो धुवाँ

र मेरो बिँड़ीबाट उड़ेको धमिलो धुवाँ

मिसिएर एउटै भएपछि

तपाईंले अलग गर्न सक्नुहुन्न मालिक!

 

तपाईं र मेरो फोक्सोको कस पनि त एउटै छ

त्यसलाई पनि कहाँ अलग गर्न सक्नुहुन्छ र!

 

 

तब किन अलग गर्नुहुन्छ

सँगै भाँड़ाकुटी खेलिरहेकी

तपाईं र मेरी छोरीहरूलाई?

 

 

मैले मेरो निधारको घाम उप्काएर

तपाईंको आकाशमा टाँगिदिएको छु मालिक!

 

 

त्यसैले त

मेरो घरको छानाझैँ चुहिरहन्छ सधैँ

मेरो निधार पनि।

आँखा पनि मेरै मात्र त चुहिरहन्छ सधैँ।

 

लु!

अरू जम्मै दिन त तपाईंको भयो भयो

मालिक!

ईः यो एउटा दिन आज मैले मेरो भनिदिएँ।

एउटा दिवसः उसको सपनाको सवाई

 

 

इन्दु प्रभा देवी

 

 

 

 

 

 

 

वर्षदिन निदाएका मान्छेहरू

एकदिन ब्युँझिन्छन् उसका निम्ति!

उसलाई लाग्छ – अब बल्ल उसको सपनाको

गाडीमा रङ लगाउने पालो…

गाडीको स्ट्रेयरिङ समात्छ र डुल्न निस्कन्छ

मनका हरिया बाटाहरूमा

सयेँल गोरेटाहरूमा …

रुखका गीत सुसेल्दै

बतासको बास्नामा पौडिँदै

हरबर घुमी नाच्छ ऊ तोरी फूलको रङमा

अनि

एक-दुइटा बादलका बुट्टा गोजीमा हाली

बेलुकापखको न्यानो घामलाई म्वाई खाँदै भन्छ-

अहो! कति मीठो यो जिन्दगी… !

भोलिपल्ट उसलाई थाहा लाग्छ-

उसका कर्मठ हात र खुट्टाहरूको

दरदाम गर्दैछन् मान्छेहरू फेरि पनि बजारमा…

हिजोको गाडी भत्किएको छ

उसको यात्रा रोक्ने गरी

हिजोको घाम रापिएको छ

उसका ओठ डाम्ने गरी…

एउटा नडगिने सपनाका लागि

उसले एउटा विपना कहिले रच्ला ?

खेतको खील

शरण मुस्कान
दार्जीलिङ।

 

 

 

 

 

 

 

हजुरको पाइतला जति न हो

मेरो इस्सोर बस्ने आकास

यसैले-

हजुरकै पाइतलातल्तिर सदैव छेकिन्छ

मेरो खेतबारीको पानी

सघांरको घाम।

 

फेदाङमा भन्छन्-

खूनको दोख लागेको छ रे यो धरतीमा

इस्सोरको श्राप परेको छ रे यो बस्तीमा।

 

यही धरती सिञ्चदा- सिञ्चदै

बाजे निख्रिए

बाउ निख्रिए

अहिले म निख्रिदैछु।

 

छोरा शिशु शिक्षा केन्द्र पढ़्दैछ

ठूलो मान्छे बनाउने रहर छ यसलाई।

 

छोरीलाई पुतली समात्ने खूब रहर छ

स्कूल जानै मान्दिन

बरू पुतलीको पछि- पछि कुदिरहन्छे

दिनैभरि पुतलीहरूसितै बातचीत गरिरहन्छे

डर लाग्छ-

पुतलीजस्तै त्यसले पनि उड़्ने सपना हुर्काउँदैछिन् कि

 

आमा चै रातभरि खोक्छिन्

लुकाएर मजेत्रोले मुख छोप्छिन्

लाग्दी हो त्यसलाई-

मजेत्रोमा बसेको खूनको दाग मैले हेरेकै छैन

आँखामा जमिएको पीरको दह मैले देखेकै छैन।

 

यसैले होला-

अचेल यो छातीभित्र आगोमात्रै बलिरहन्छ

कुन्नि के के जलिरहन्छ

म नाँथे झ्यास हजुर

आफूलाई बाल्न कतिञ्जेल सक्ने !

यो आगोलाई बाल्न कतिञ्जेल सक्ने !

 

हजुर !

सघांरको घाम उकास्ने इच्छा छ

खेतबारीको खड़ेरी भिजाउने रहर छ

मालिक दया होस्!

हजुरको पाइतलाको मूल्य कति छ?

 

 

ग्रीन टी

□ विकाश थापा आले
दार्जीलिङ।

 

 

 

 

 

 

 

 

राती ताप्केमै छाडेको

हाते चियाको बासी छोकरा

अलिकति पानी थपिएपछि

एकपल्ट फेरि उम्लन्छ भुलुक-भुलुक

चाल्नीबाट छिर्दै बगेको झरनाले

बनाउँछ कलाईको मगमा सुन्दर तलाउ

अनि शुरू हुन्छ साइरन कुरेर बसेको

कुनैपनि कमानको एकैखाले बिहानी

फीका चियारङको तातो घुट्कीसंगै।

 

लाटो पहाड़को पिठ्यूँमा चडेर

शोषक चाबुककले हानिबस्छ / खेलिबस्छ

अन्धाधुन्ध चोटिल चान

अनि चुँडिबस्छ कुमारी मुनाहरुसंगै

बुख्याँचा बोटहरूसितै कचल्टिएका

चियाबारीका बोन्साइ सपनाहरु ।

 

पुस्तौंदेखि चर्म रोगले ग्रसित हातहरू

नियमित चुड़ँछन पात र सुइरोहरू

पसिना-पानी, पसिना-घाम

भिजेको पसिना, सुकेको पसिना

लुकेको पसिना, दुखेको पसिना

मजदूरको पसिनाहरूबाट

नुन-नुन छुट्याउँछ मालिकले

अनि चियाबारीको घाउमा

बेला न कुबेला छर्छै छर्छ ।

 

श्रमका थुङ्गा-थुङ्गा फुलको माला पहिरिएर

 मालिक चियाबारी डुलेको कुनै भयानक दिन

क्यामाराहरू पनि सँगै डुल्छन्

सुन्दर चियाबुट्टा अघि पोज दिन्छिन्

कुनै अर्ध-नग्न हाइ-प्रोफाइल मोडल ठिटी

विश्वप्रसिद्ध ‘ग्रीन टी’को कभरमा

कुन्नि-कसरी छलिन्छन् चियाबारी ।

 

उत्पादन तिथि: साँइली रोजमा पसेको दिन ।

समाप्ति तिथि: जेठाले अवकाश पाउने दिन।

मूल्य: श्रमिकको हाजिराभन्दा हजार गुणा मात्र अधिक ।

अतिरिक्त कर: दसैँको बोनसजस्तै मालिकलाई पनि बक्सिस।

 

काँचो रगतजस्तै अक्षरहरू

कुदिरहन्छन् किरिङ्ग-मिरिङ्ग

‘ग्रीन टी’ का कभरभरि

पोखिरहन्छन् अस्तित्वका गुनासोहरू

लडिरहन्छन् वर्चस्वका युद्धहरू।

 

मालिक मौन हुन्छ सधैँ-सधैँ जस्तो

श्रमिकहरूको विरोधाभासको प्रतिरूप

ऊ चियाबारीको ठुलो भित्तेचित्र बनाउँछ

अनि झुण्ड्याउँछ आफ्नो ड्रइङ रूममा

कैंयौ कालसम्म तुन्द्रुङ्ग ।

 

गीत

कमल रेग्मी

दार्जीलिङ।

कोही मर्छन् रोगले राजै

कोही मर्छन् शोकले

विडम्बना लाग्छ जब

मर्छन् मान्छे भोकले।

 

पाखुरी नि चलाइराख्छन्

पौरख खाने अर्कै

खुन पसिना बगाउँछन् उनै

महल ठड्याउने अर्कै

कैले आउँला त्यो दिन बरै

गरीब घरमा घाम

जब पाउँछ उसले आफ्नो

मजदुरीको दाम ।

 

दुःख ओछ्याई अभाव ओड्छन्

के आउँथ्यो र सपना

विद्रोहले मुठी कस्छन्

रोक्न आउँछन् आफ्ना

कसलाई गरोस् गरीबले

आश अनि विश्वास

शोषककै घर बस्छन् क्यार

भगवानले बास।

 

बिहान पर्खेर

नरेश कटुवाल

 

एक हातमा मार्तोल

र एक हातमा ढुगां समातेर

मजबुरी फुटाउँदै बस्ने

मायाहरूको बिहानमा जुन दिन घाम उदाउँछ

त्यो दिन खेतमा रोपारहरूले कस्तरी थकाई मार्छन् ?

सोच्नु पनि सपना लाग्छ।

 

नदीको पुरै चिसो समातेर

बालुवा उठाउने मन्तरीको घर

त्यो बालुवाकै छ

जो हरेक खाँचोका छालहरूले भत्काइदिन्छ।

 

किन भोकै सुत्छ जैरू किसानको छोरा?

बाबुले धान माजनलाई जिम्मा लाएपछि।

 

गाउँमा बाध्यताको स्यापटिकले थलिएपछि

एक दुई क्यापसुल पेनकिलरको खोजीमा

राकेश महेश र दिपिकाहरू

यूपी र बिहार पसेको थुप्रै भयो।

 

बजाइबस्छ पीरको साईरन

अभागी कमानले

जसरी कराउँछ बाजेको पुरानो दग्दी गानो ।

 

यो आपद संकट र हाहाकारले

डेरा थापेको थलोमा

कमसेकम सबै जिउदा जस्ता त छन्

किनकि सबैसित विश्वासको बाली

र हिम्मतको फसल त छ

जो बसेको छ उन्मुक्तिको  बिहान पर्खेर।

 

सुर्ता

कृतिका दाहाल
दार्जीलिङ।

 

 

 

 

 

 

 

अँ हो…

सुर्ता,

सुर्ता नै थियो

दुवैजनाको

फरक बस

यति थियो

मलाई सुर्ता थियो मेरो म्यागीको केट्चपको

उसलाई सुर्ता थियो

बादलको गड़गड़ाहट

र उसको फसलको।

तर

सुर्ता

सुर्ता नै थियो दुवैजनाको।

श्रमिकको पुकार

बबिता मादेन

सिलगढ़ी।

 

मालिकको कारखानाको मशिन मान्छे उ

जब उसको पसिनाले फुलबुट्टा भर्छ

तब देशले वैश्विकस्तरमा

सफलताका झण्डा फर्फराउँछ ।

 

मानवीय मुल्यको आदर्श उदाहरण

तर व्यवस्थाले सदैव कोर्रा लगाउँछ

र नियमहरुले बाँधिदिन्छ

न्युनतम् रोजगारको सीमारेखाभित्र।

कानूनले तय गरेको समयलाई

मालिकले तन्काउदै भन्छ- कठपुतली होस तँ

प्रतिरोधमा केवल मौन विरोध ।

 

थाहा छ उसलाई

जब एक दिनको हाजिरा पाक्छ

तब त घरमा अलिकति खुशी छिर्छ

जबसम्म परिश्रम बिक्छ

तबसम्म मात्र अस्तित्व छ

शरीरलाई बलले साथ छोड़ेकै दिन

अफालिन्छ ऊ

कुनै रद्दी समान अफालिए झैं

हिउँदो बर्खाले रुझेको

कारखानाको रसायिनक हावाले गलेको

छाला मरिसकेको पाइतला

घामले खाएको हात-गोड़ाहरु

अनि तिरस्कृत आत्माले

सदैव यो वोध गराउँछ

कि उसले आफू हुनुको मूल्य चुकाउनैपर्छ ।

त्यतिबेला देशले गर्व गर्दछ

जब ठूलो निर्यातपछि मोटो मुनाफा कमाउँछ

तर देशलाई उन्नतिको शिखरमा पुरयाएर

अभावहरुको बोझले थिचिएको

ती श्रमिकलाई सरकार कहिले सोध्दैनन्

कि घरको छानो चुहुन्छ कि चुहुँदैन ?

घरमा बिजुली बल्छ कि बल्दैन ?

गर्भवती पत्नि प्रशवकालमा छट्पटिएर मर्छ कि मर्दैन ?

थलिएको बाउ औषधिको निम्ति तड़पिन्छ कि तड़पिँदैन ?

स्कूल खजाना तिर्न नसक्दा

माध्यमिक दिने छोरो पढ्न वञ्चित हुन्छन् कि हुँदैन?

 

कुनै पर्वाह छैन

मानव मशिन बनेको भौतिक संसारलाई

वास्ता छ त

केवल  उसको परिश्रमले बजारमा उपलब्ध

सामाग्रीको स्वादको मूल्यको।

 

 

श्रमजीवि

 

 

 

 

 

 संगीता तामाङ्ग थापा

खरसाङ।

पसिनाको गन्धमै

सुगन्ध पाल्ने

अधकल्चो पेटमै

भोकलाई टाल्ने।

अङ्गालोभरि सपना

निधारभरि मोती बोकी

सक्छौ तिमी निदाउन?

जीवनको परिभाषा

सोध मलाई।

 म त श्रमजीवी

तिमी परजीवीले

के बुझ्थ्यौ

भोकाएको पलको

मीठो रहर , आकांक्षाहरू

बाध्यताको बाँध अनि मेरो अव्यक्त व्यथा।

 हो म,

दुर्गन्धमै सुगन्ध खोज्छु।

म एक श्रमजीवी

हजूर!

जीवन खोज्दै थिए

आजसम्म खोज्दै छु।

Related Posts

leave a comment

Create Account



Log In Your Account