Darjeeling Online Nepali News Portal
प्रतिविम्ब न्यूज
कालेबुङ, २५ अक्टोबर
सन् १९७९मा स्थापित अनि यसै वर्ष २०१९देखि उच्च माध्यमिक तहको निम्ति सरकारी मान्यताप्राप्त गरेको बरबोट उच्चतर माध्यमिक विद्यालयबाट माध्यमिक परीक्षा उत्तीर्ण गर्ने मेधावी विद्यार्थीका लागि मनमाया-चक्रबहादुर छेत्री दीर्घायु शैक्षिक पुरस्कार परम्परा शुरु गरिएको छ।
बरबोट उच्चतर माध्यमिक विद्यालयका भुतपूर्व छात्र रहिआएका छोराहरूले आफ्ना जीवित माता-पिताको सुस्वास्थ्य र दीर्घायुको कामना राख्दै उक्त पुरस्कार परम्परा शुरु गरेका हुन्। बरबोट उच्चतर माध्यमिक विद्यालयबाट माध्यमिक परीक्षामा साट्ठी प्रतिशतभन्दा माथिको सर्वोच्च अङ्क ल्याउने मेधावी विद्यार्थीलाई पाँच हजार रुपियाँ र स्मृति चिन्ह प्रदान गरिने प्रायोजक पक्षले जनाएको छ। पुरस्कार प्राय़ोजक पक्षमा गोविन्द छेत्रीले जनाए अनुसार प्रथम मनमाया-चक्रबहादुर दीर्घायु शैक्षिक पुरस्कार २४ अक्टोबरको दिन भएको बरबोट उच्चतर माध्यमिक विद्यालयको वार्षिक महोत्सव कार्यक्रममा निशेष सुब्बालाई प्रदान गरियो। पुरस्कार प्रापक निशेष सुब्बाले बरबोट उच्चतर माध्यमिक विद्यालयबाट सर्वोच्च अङ्कसहित २०१९को माध्यमिक परीक्षा उत्तीर्ण गरेका हुन्। यसका साथै सुब्बा रेलीवारि टपर समेत बनेका थिए।
हाल कालेबुङ बजारको एक विद्यालयमा विज्ञान विषय लिएर अध्ययनरत निशेष सुब्बालाई २४को कार्यक्रममा चक्रबहादुर छेत्रीले पुरस्कार स्वरुप राशि र स्मृति चिन्ह प्रदान गरेका थिए। जुन कार्यक्रम कुमुदिनी होम्स कालेबुङका प्रभारी याङदेन घिसिङको प्रमुख आतिथ्य अनि शिक्षाविद् नगेन्द्र राईको अध्यक्षतामा सम्पन्न भएको थियो। कालेबुङको कोल्टे पाखा भनेर चिनिने निम्बोङ अनि पाब्रिङटार इलाकाको शैक्षिक विकासमा चार दशकदेखि उल्लेखनीय योगदान पुऱ्याउँदै आएको बरबोट उच्चतर माध्यमिक विद्यालयकी प्रभारी सामृकित पानलुकले पुरस्कार परम्पराले विद्यालयको शैक्षिक गुणस्तरमा सहयोग पुऱ्याउने बताउँदै प्रायोजक परिवारप्रति आभार प्रकट गरेकी छन्।