वार्षिक महोत्सव कार्यक्रमको तयारीमा बरबोट उमावि

वार्षिक महोत्सव कार्यक्रमको तयारीमा बरबोट उमावि

प्रतिविम्ब न्यूज

बाग्राकोट,२२ अक्टोबर।

यहाँदेखि केही किलोमीटरको दूरीमा कालेबुङ जिल्लाको पाब्रिङटारको बरबोटस्थित बरबोट उच्चतर माध्यमिक विद्यालय आउँदो 24 अक्टोबरको दिन हुने वार्षिक महोत्सव कार्यक्रमको तयारी लिएर युद्ध स्तरमा जुटेको जानकारी प्राप्त भएको छ। 24 अक्टोबरको उक्त कार्यक्रम बरबोट उच्चतर माध्यमिक विद्यालयको स्थापनामा उल्लेखनीय भूमिका निर्वाह गर्ने शिक्षाविद् नगेन्द्र राईको अध्यक्षतामा रहनेछ।

कुमुदिनी होम्स ,कालेबुङका प्रभारी याङदेन घिसिङ प्रमुख अतिथिको रुपमा आमन्त्रित रहेको उक्त रेलीवारिका विभिन्न शैक्षिक प्रतिष्ठान,सङ्गठन र विशिष्ट व्यक्तिहरूलगायत निम्बोङ पाब्रिङटारका शिक्षानुरागीहरूलाई आमन्त्रणा गरिएको पनि विद्यालयले जनाएको छ।

साहित्यिक एवं सांस्कृतिक कार्यक्रममा विद्यार्थीहरूको दर्बिलो उपस्थिति रहने उक्त कार्यक्रममा सम्मान कार्यक्रम पनि समावेश रहेको थाहा लागेको छ। जुन कार्यक्रममा शिक्षक शिक्षिकालाई सम्मानसहित बरबोट उमाविबाट यसै वर्षको माध्यमिक परीक्षामा सर्वोच्च अङ्क ल्याउने मेधावी छात्र निशेष सुब्बालाई यसै वर्षदेखि शुरु भएको मनमाया-चक्रबहादुर शैक्षिक पुरस्कार पनि प्रदान गरिने छ। सुदूरवर्ती इलाकामा अवस्थित रहेको बरबोट उच्चतर माध्यमिक विद्यालयले धेरै समस्या र चुनौतीहरू सामना गर्दै क्षेत्रका नानीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दैआएको जनाउँदै प्रभारी सामृकित पानलुकले वार्षिक महोत्सव कार्यक्रमको आयोजनाबाट विद्यार्थीहरू विविध क्षेत्रमा लाभान्वित हुने बताइन्। साथै विद्यालयको उत्तरोत्तर प्रगतिका लागि सरोकार राख्नेहरूसित अन्तरक्रिया हुने पनि उनले जनाइन्।

उक्त कार्यक्रम विद्यालय प्राङ्गणमा हुने खुलाउँदै विदयालयका वरिष्ठ शिक्षक भीमप्रसाद शर्माले विदयालयले उच्च माध्यमिक तहको सरकारी मान्यता यसै वर्ष प्राप्त गरेको हुनाले यसचोटिको कार्यक्रम विशेष हुने बताउँछन्। उक्त कार्यक्रममा आमन्त्रित अतिथिहरू,अभिभावकवर्ग लगायत शिक्षानुरागी क्षेत्रवासीलाई उपस्थितिका लागि सह-शिक्षिका म्यागडोलिन लेप्चाले विद्यालय परिवार पक्षमा आग्रह गरेकी छन।  स्मरण रहोस्, पाब्रिङटार अनि निबोङ ग्रामपञ्चयातको एकमात्र उच्च तहको शैक्षिक प्रतिष्ठानको रुपमा स्थापित बरबोट उच्चतर माध्यमिक विद्यालय सन् 1979 मा स्थापना भएको हो। यस विद्यालयमा कालेबुङको सुदूर्वर्ती इलाकाहरू निम्बोङ अनि पाब्रिङटार ग्रामपञ्चात अन्तर्गत रहिआएका विभिन्न गाउँका विद्यार्थीहरू अध्ययन गर्छन्। पाब्रिङटार र निम्बोङ ग्रामपञ्चायत इलाकामा जुन शैक्षिक माहौलको निर्माणको भएको छ त्यसको शतप्रतिशत श्रेय नै यसै विद्यालयलाई जाने क्षेत्रका शिक्षानुरागीहरू बताउँछन्। यस्तोमा लामो समय र सङ्घर्षपछि यस विद्यालयले यसै वर्षदेखि उच्च माध्यमिक तहको सरकारी मान्यता प्राप्त गरेको छ। क्षेत्रका शिक्षानुरागीहरू यस विद्यालयले उच्च माध्यमिक तहको सरकारी मान्यता पाएकोमा धेरै उत्साही देखिन्छन्।

Related Posts

leave a comment

Create Account



Log In Your Account