सासंद र विधायकलाई गोर्खाहरूको हैन भाजपाको चिन्ता रहेको छ- विनय तामाङ

सासंद र विधायकलाई गोर्खाहरूको हैन भाजपाको चिन्ता रहेको छ- विनय तामाङ

एनआरसीमाथि विष्ट र जिम्बाले झूटो बोलिरहेको आरोप

एनआरसीमाथि चर्चा गर्न गोजमुमो विनय खेमाको भोलि दार्जीलिङमा बैठक।

मुख्यमन्त्री ममता व्यानर्जीसित बातचीत गर्न गोजमुमो प्रतिनिधि टोली कलकत्ता पनि जाने।

प्रतिविम्ब न्यूज

दार्जीलिङ 3 सेप्टेम्बर।

आसामका 1 लाख गोर्खाहरू एनआरसीको अन्तिम सूचिबाट बाहिरिएको समाचारले सम्पूर्ण गोर्खाहरूमा खलबली मचिरहेको छ भने सोही क्रममा उक्त समाचार अफवाहमात्रै रहेको दार्जीलिङका सासंद राजु विष्टले दावी गरेका थिए भने यसको लगत्तैपछि भूमिगत नेता विमल गुरूङले हिजोमात्र एनआरसीबारे छानबीन गर्न सासंद राजु विष्ट, विधायक निरज जिम्बालगायत अन्य नेतृत्वहरूलाई आसाम पठाउने एक विज्ञप्तिमार्फत जनाएका थिए। यसको लगत्तैपछि गोजमुमो अध्यक्ष विनय तामाङले  आज एक प्रेस विज्ञप्ति दारी गरी विमल गुरूङको उक्त घोषणाले नै सासंद राजु विष्ट अनि विधायक निरज जिम्बाले झूट बोलिरहेको प्रमाणित भएको दावी गरेको छ भने सासंद अनि विधायकले गोर्खाहरूको राष्ट्रिय सुरक्षा अनि चिह्नारीको चिन्ता नगरेर भाजपाको पार्टीको चिन्ता गरिरहेको र एनआरसी काण्ड ढाकछोप गरिरहेको आरोप पनि लगाएको छ।

यस विषयमा विनय तामाङले आज एक प्रेस विज्ञप्ति जारी गरेका छन् भने उक्त विज्ञप्तिमा यस्तो लेखिएको छ- आसामका 1 लाख गोर्खाहरू एनआरसीबाट बाहिर भएको समाचार अफवाहमात्र हो भनेर हिजोमात्र दार्जीलिङका सासंद राजु विष्टले सम्वाद माध्यमहरूमा भनेका थिए औ विधायक निरज जिम्बाले बारम्बार एनआरसीले गोर्खालाई कुनै असर पर्दैन दिइएतापनि तर लगत्तै विमल गुरूङले यसबारे जानकारी लिन तथा तथ्याङ्कहरू बटुल्न सांसद राजु विष्ट, बीपी बजगाई अनि विधायक निरज जिम्बालाई आसाम पठाउने प्रेस विज्ञप्तिमार्फत् जनाएका छन्। विमल गुरूङको आजको उक्त बयानले भाजपा सांसद राजु विष्टले अनि निरज जिम्बाब्दिले दिएको बयानहरू झूटो रहेको प्रमाणित भएको छ।

अर्थात् राजु विष्ट अनि निरज जिम्बालाई गोर्खाहरूको राष्ट्रिय सुरक्षा र चिह्नारीको भन्दा धेर भाजपा पार्टीको चिन्ता रहेको उनीहरूको दिनहुँ दिइरहेको झूटो बयानहरूले प्रमाणित गरिदिएको छ।यसैले आसामका 1 लाख गोर्खाहरू एनआरसीबाट बाहिर भएको सत्य खबरलाई समेत अफवाह बताएर उनले भाजपा सरकारको कर्तूत ढाकछोप गरिरहेका छन्।

हामी एनआरसीको विरोधमा कदापि छैनौं तथापि एनआरसीको नाम गरेर आसामको भूमिबाट त्यहाँका 1 लाखभन्दा अधिक भूमिपुत्र गोर्खाहरूलाई शरणार्थी बनाउने जुन षड़यन्त्र भइरहेको छ हामी त्यसको खुलेर विरोध गर्दछौं। एनआरसीको दायराबाट ती गोर्खाहरूलाई उपेक्षित गरेर शरणार्थी बनाउनु पाउने छैन। आसामका सबै गोर्खालीहरू खाट्टी भारतीय नागरिक हुन् र आसाम राज्य निर्माणमा उनीहरूले आफ्नो रगत- पसीना खर्चिएका छन्। ती गोर्खाहरूलाई भाजपाले एनआरसीबाट बाहिर गरेर विदेशी बनाउछन् भने सारा गोर्खाहरू सड़कमा ओर्लेर यसको विरोध गर्नेछन्। आसामका ती 1 लाख गोर्खाहरूलाई न्याय दिलाउन दार्जीलिङ पहाड़बाट हामी आन्दोलन शुरू गर्नेछौं र भारतका हरेक प्रान्तका गोर्खाहरूलाई लिएर सड़कमा ओर्लिनेछौं। हामी एनआरसीको विरोधमा छैनौं तर एनआरसीमार्फत् भाजपाले गोर्खाहरूलाई विदेशी ठहराउने जुन प्रयास गरिरहेका छन् हामी त्यसको विरोधमा छौं।

यसै सन्दर्भमा 1 लाख गोर्खाहरूलाई एनआरसीबाट हटाइएको समाचार अफवाहमात्र रहेको दावी गर्ने राजु विष्टलाई अनि विधायक निरज जिम्बालाई पनि भाजपाको सासंद र विधायक भएर हैन तर गोर्खा भएर सोचिदिने पनि हामी सुझाउ दिँदछौं। गोर्खाहरूले आफ्नो राष्ट्रिय सुरक्षा र चिह्नारीको निम्ति उनहरूलाई सासंद र विधायक बनाएका हुन् र उनीहरू आफैले पनि गोर्खाहरूको सुरक्षा र चिह्नारीको निम्ति कार्य गर्छु भनेर भोट मागेका हुन्। आज गोर्खाहरूको सासंद र विधायक बनेपछि गोर्खाहरूको पक्षमा नबोलेर भाजपा पार्टीको कार्यकर्ताजस्तो भएर बोल्नु दुर्भाग्यको कुरो हो। यदि उक्त समाचार अफवाहमात्रै हो भने केन्द्र सरकारलाई चाड़ै ती गोर्खाहरू एनआरसीभित्र रहेको तथा उनीहरू सुरक्षित रहेको लिखित स्पष्टीकरण दिनुपर्ने दबाउ राजु विष्ट र निरज जिम्बाले दिउन्। अन्यथा झूटो बोलेर गोर्खाहरूलाई भड़्खालोमा हाल्ने काम नगरून्।

विमल गुरूङले सांसद, बीपी बजगाई अनि विधायक निरज जिम्बालाई आसाम पठाउने जुन घोषणा गरेका छन् तर उक्त भ्रमणपछि सत्य तथ्य लुकाउने प्रयास भने नगरून्। भाजपाकै कृपामा बसिरहेको विमल गुरूङले भाजपाकै सांसद, विधायक निरज जिम्बा अनि बीपी बजगाईलाई आसाम पठाएर सत्य तथ्यलाई ढाकछोप गरेर भाजपालाई नै सही देखाएर 1 लाख गोर्खाहरूलाई विचल्नी बनाउने हो कि भन्ने पनि हामीलाई शङ्का लागेको छ। यसैले उनीहरूको आसाम भ्रमणमाथि हाम्रो पनि गिद्धे नजर रहनेछ।

हामी आफैले पनि आसामका ती गोर्खाहरूको विषयमा निरन्तर जानकारी लिइरहेका छौं साथै यस विषयमा मुख्यमन्त्री ममता व्यानर्जीसित पनि सम्पर्कमा रहेका छौं। यसै क्रममा मुख्यमन्त्री ममता व्यानर्जीले पनि आसामका 1 लाख गोर्खाहरूको पक्षमा बयान दिएर गोर्खाहरूको मनोबल बड़ाइदिएका छन्। यसैले हामी गोर्खाहरू पनि अब सतर्क भएर बस्ने समय आएको छ। आसाममा झैं दार्जीलिङ पहाड़लगायत अन्य राज्यहरूमा पनि एनआरसीको नाम गरेर गोर्खाहरूलाई उच्छेद गर्ने भाजपाको उद्धेश्य रहेको हामीले बुझिसकेका छौं। भाजपाको यो नियतलाई बुझेर सबै गोर्खाहरू एकजुट भएर अघि आउनु आवश्यक रहेको छ। आज आसामबाट 1 लाख गोर्खाहरूलाई शरणार्थी बनाउने भाजपाले भोलिको दिनमा दार्जीलिङ पहाड़ अनि देशका हरेक प्रान्तबाट गोर्खाहरूलाई विदेशी भन्दै खेदुवा लगाउन पछि हट्ने छैन। यसैले समयमा नै भाजपाको उक्त नियत बुझेर आसामका 1 लाख गोर्खाहरूलाई सम्मानसहित उनीहरूको आफ्नो मातृभूमि आसामको माटोमा भारतीय नागरिक भएर बसोबासो गर्न पाउनुपर्छ भन्ने अभियानमा हामी सबै आजैदेखि एकजुट बनौं। आसामका ती 1 लाख गोर्खाहरू सुरक्षित रहेमात्र हाम्रो भविष्य पनि सुरक्षित रहनेछ। यो कुरा बुझेर सबै एकजुट बनौं।

यसै एनआरसी विषयलाई लिएर पार्टीको उच्च स्तरीय बैठक भोलि 4 सेप्टेम्बरको दिन दार्जीलिङमा हुने तथा उक्त सभामा यस विषयमा विस्तृत चर्चा परिचर्चा गरिने पनि विनय तामाङले विज्ञप्तिमा बताएका छन्। यसबाहेक एनआरसीलाई लिएर सम्पूर्ण पहलुमा छलफल गर्न गोर्खा जनमुक्ति मोर्चाको एक प्रतिनिधि टोली पश्चिम बंगालका मुख्यमन्त्री ममता ब्यानर्जीसित बातचीत गर्न कलकत्ता प्रस्थान गर्ने पनि तामाङले जनाएका छन्।

Related Posts

leave a comment

Create Account



Log In Your Account