ताजा खबर :

भारतीय गोर्खा परिसंघद्वारा खरसाङ र घैयाबारीमा 75 औं बलिदान दिवस कार्यक्रम सम्पन्न

भारतीय गोर्खा परिसंघद्वारा खरसाङ र घैयाबारीमा 75 औं बलिदान दिवस कार्यक्रम सम्पन्न

प्रतिविम्ब न्यूज

खरसाङ  25 अगस्त।

भारतीय गोर्खा परिसंघ खरसाङ आञ्चलिक समितिद्वारा आज खरसाङमा शहीद दुर्गा मल्लको स्मृतिमा 75 औं बलिदान दिवस कार्यक्रम सम्पन्न भयो । विष्णु ठकुरीको अध्यक्षता र सामाजिक कार्यकर्ता टी टी लामाको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा स्वागत सम्भाषण भागोप युवा एकाईको संयोजिका भूमिका खवास छेत्रीले राखेका थिए भने कार्यक्रमको सञ्चालन भागोप महिला एकाईको सह सचिव सरोजनी देवानले गरेकी थिइन् । कार्यक्रममा विशेष अतिथिको रुपमा पूर्व सभासद प्रभा छेत्री, देवराज भण्डारी, तुलसी अधिकारी, आशा राई चामलिङ, बिजया ब्लोन उपस्थित थिए । कार्यक्रममा कविहरू दिपक ठटाल “जलन”, अनु दर्नाल, बिनीता सुब्बा, छोडेन शेर्पा, ललिता शेर्पाले कविताहरू पठन गरेका थिए । कार्यक्रममा शहीद दुर्गा मल्लको जीवनी विषयमा प्रणिता मुखिया घिसिङ, मिना राई, तुलसी अधिकारीद्वारा प्रस्तुत गरियो।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित समाजसेवक टी टी लामाले हामी गोर्खाहरू सबै सचेत र शिक्षित छौं, तर अब सबै एक सूत्रमा बस्नु आवश्यक छ भन्दै हामी सबै जातिको लागि एक भएर अघि बढ़नुपर्छ भनी बताएका छन् । उनले खरसाङको भागोप महिला कार्यकर्ताहरूले सक्रिय भएर थापिरहेको पनि बताएका छन् । सभाध्यक्षा विष्णु ठकुरीले आफ्नो सम्बोधनमा हामीले अब वीर पूजा गर्न आवश्यक छ भन्दै वीर पूजा गरिए गोर्खाहरुको वीरताको परिचय हुन्छ भनी बताइन् । उनले आफ्नो नानीहरूलाई अंग्रेजी स्कूलमा पढ़ाए पनि घरमा नेपाली साहित्य र भाषालाई पनि सिकाउनु आवश्यक छ भनी बताएका छन् ।

त्यसरी नै भारतीय गोर्खा परिसंघ घैयाबारी शाखाको आयोजनामा पनि यहाँको गैरी गाउँस्थित सार्वजनिक भवनमा 75 औं बलिदान दिवस कार्यक्रम सम्पन्न भयो । वरिष्ठ नागरिक बी बी गुरुङको अध्यक्षता र एसएसबीको पूर्व डीएसपी बीके शर्माको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा सञ्चालन गर्दै भागोप घैयाबारी शाखाको कार्यकारी सभापति जयराज थापाले भागोपको नीति, उद्देश्य र औचित्यमाथि बोल्दै 75 औं बलिदान दिवस विषयमा पनि जानकारी गराएका थिए ।

उनले शहीद दुर्गा मल्लको जीवनी पनि प्रस्तुत गरे । शहीद दुर्गा मल्लको तस्वीरमा धुप द्वीप प्रज्वलन गरी थालिएको कार्यक्रममा देशभक्ति गीत घैयाबारीको उषाकिरण क्लष्टरको सदस्याहरूले प्रस्तुत गरेका थिए । कार्यक्रममा नेताजी हाई स्कूल घैयाबारी र ब्लु डाइमण्ड स्कूलका विद्यार्थीहरूले गीत, कविता, सामुहिक नृत्य प्रस्तुत गरेका थिए भने युवा कविहरू मिलन प्रधान, अर्जुन योञ्जन, देवेन मंगर, हनोक थापा, रमेश प्रधानले पनि कविताहरू पठन गरेका थिए । कार्यक्रममा विशिष्ट अतिथिको रूपमा उपस्थित शिक्षकहरू रञ्जन कुमार रसाईली, सुरेशचन्द्र दर्नाल, दिनेश प्रधानले पनि वक्तव्य राखेका थिए । कार्यक्रममा सहभागीहरू सबैलाई अतिथिहरूका बाहुलीबाट प्रशस्ती पत्र प्रदान गरिएको थियो भने धन्यवाद ज्ञापन रमेश प्रधानले राखेका थिए ।

Related Posts

leave a comment

Create Account



Log In Your Account