अक्षर मोन्टाजको दोस्रो संस्करणको लोकार्पण : कवि हनोकले कवितामा आफुलाई नौलो परिपाटीमा देखाउन चाहेको छ – डा एडोन रोंगोंग

अक्षर मोन्टाजको दोस्रो संस्करणको लोकार्पण : कवि हनोकले कवितामा आफुलाई नौलो परिपाटीमा देखाउन चाहेको छ – डा एडोन रोंगोंग

प्रतिविम्ब न्यूज

खरसाङ  24 अगस्त।

युवा कवि एवं पत्रकार हनोक थापाद्वारा लिखित कविका संग्रह “अक्षर मोन्टाज” को दोस्रो संस्करणको आज लोकार्पण गरिएको छ । कवि हनोक थापाको उक्त कविका कृतिको पहिलो संस्करण दिसम्बर 2016 मा भएको थियो भने यसै कविता संग्रहको दोस्रो संस्करण पनि आज भरातीय इसाई लेखकहरूका संस्था स्रष्टा संगमको सभामा सालबारीको एल गिबोर चर्चमा लोकार्पण गरिएको छ । उक्त कविका कृतिको लोकार्पण वरिष्ठ साहित्यकार डा एडोन रोंगोंग, सम्पादक एल्डर राजु राई, अन्तराष्ट्रिय नेपाली इसाई मिडिया सञ्जालको भारतको सभापति किशोर कुमार राई, स्रष्टा संगमको संरक्षक तितस लेप्चा अनि कवि हनोक थापाको बाहुलीबाट गरिएको छ । स्रष्टा संगमको उप सभापति पा शरण शरदद्वारा सञ्चालित कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित डा एडोन रोंगोंगले कवि हनोक थापाद्वारा लिखित कविता संग्रह अक्षर मोन्टाजमाथि समीक्षात्मक टिप्पणी राख्दै कवि हनोकको कविताहरू धेरै पढ़ेको, पहिलो संस्करणमा पनि पढ़ेको र मन पराएको बताउँदै पहिलो संस्करणको कविता कृति मैले काठमाण्डौंमा पनि पढ़नु भनेर पठाई दिएको बताए । उनले कवि हनोकको भविष्य कवितामा राम्रो छ, सुन्दर छ, मजाको छ, निक्कै गहकिलो छ भन्ने लाग्छ भनी बताउँदै तिनको कविताले आजको युगलाई नयाँ दिशा, नयाँ मार्ग दर्शन गर्न खोजेको पनि बताएका छन् ।

डा एडोन रोंगोंगले अघि भने – “मोन्टाज एउटा सक्रियता हो, यो अन्य भाषामा बेसी जस्तो चलाइन्छ अनि नेपाली कवितामा सायद अरूले चलाएको थिएन। उनको कविताहरू केही बुझिरहेको, केही गर्न चाहेको जस्तै छ, कवितामा कन्ट्रयास रहेको पाइन्छ, धेरै कविताहरूमा केही हुने, केही होस् भन्ने इच्छा जाहेर गरेको छन् ।”

डा एडोन रोंगोंगले कवि हनोकको कवितामाथि बोल्दै अझ भने अनुसार प्रथम कृतिमा नै एउटा भिन्नै किसिमको कविको रुपमा भेटाएको थिए , उनको कृतिको नाम नै अक्षर मोन्टाज राखेर आफुलाई नौलो परिपाटीमा प्रस्तुत गरेका थिए भनी बताएका छन् । उनले यो मोन्टाज भन्ने शब्द नेपाली शब्द होइन तर यही शब्द नै मीठो र खुल्ने कवितामय शब्द समागम गर्ने किसिमको भएको छ जसको चर्चा पनि धेरैले गरेका थिए भनी बताएका छन् ।

कार्यक्रममा कवि हनोक थापाले आज कविता संग्रह अक्षर मोन्टाजको दोस्रो संस्करण लोकार्पण गर्न पाएकोमा खुशी व्यक्त गर्दै सबैलाई धन्यवाद दिएका थिए । उनले आफ्नो पहिलो संस्करण दिसम्बर 2016 मा प्रकाशित गरेपछि पत्रकारिताको पेशाले व्यस्त भएर कविताहरू लेख्न नसकेको बताउँदै लामो अन्तरालमा फेरि पुराना केही कविताहरू हटाएर नयाँ कविताहरूलाई समावेश गरेर दोस्रो संस्करण लोकार्पण गर्न परेको बताएका छन् । उनले आफ्नो किताब इसाई लेखकहरूले नपाएको गुनासोले गर्दा आज स्रष्टा संगमको सभामा नै सानो रुपमा लोकार्पणको औपचारिकता पूरा मात्र गरेको पनि बताए । कवि हनोकले कविता लेखन र यो दोस्रो संस्करण प्रकाशित गर्न सहयोग गर्ने सबैप्रति आभार प्रकट पनि गरे । यस अवसरमा एल्डर राजु राईले लोकार्पित कृति अक्षर मोन्टाजमाथि समर्पणको प्रार्थना गरेका थिए । कार्यक्रममा सिक्किमबाट “हल्ला गर” पत्रिकाको सम्पादक अन्मोल राई, अन्तर्राष्ट्रीय नेपाली इसाई मिडिया सञ्जालको भारतको सचिव पास्टर निमा लेप्चा, आदम आले, तिमोथी छेत्री पनि उपस्थित रहेका थिए ।

Related Posts

leave a comment

Create Account



Log In Your Account