ताजा खबर :

फेरि गोरामुमोले उठायो जीटीए खारेजको माग

फेरि गोरामुमोले उठायो जीटीए खारेजको माग

प्रतिविम्ब न्यूज

दार्जीलिङ, 22 अगस्त।

फेरि गोरामुमो (गोर्खा राष्ट्रिय मुक्ति मोर्चा)-ले उठायो जीटीए खारेजको माग। आज दागोपाप (दार्जीलिङ गोर्खा पार्वत्य परिषद) सम्झौता दिवसको अवसर पारेर गोरामुमोले यो माग तीब्र पारेको छ। यसका साथै पार्टीले जीटीए कुनै पनि समय खारेज हुनसक्ने स्थिति सृजना भइरहेको पनि आशा व्यक्त गरेको छ। यो माग उठाउँदै आज गोरामुमोले दार्जीलिङ महकुमाभरि व्यापक पोस्टरिङ गरेको छ भने पार्टीको झण्डा पनि लगाउने कार्य गरेको छ। यसैबीच, आज गोरामुमो कार्यकर्ताहरूले दार्जीलिङ महकुमाअन्तर्गत पर्ने तीनवटा खण्ड विकास क्षेत्रका खण्ड अधिकारीहरूलाई पनि जीटीए खारेज गर्ने माग गर्दै ज्ञापन दिएका छन्। यसबारे गोरामुमो दार्जीलिङ महकुमा समिति प्रवक्ता सन्दीप लिम्बुसित प्रश्‍न गर्दा उनले भने-दार्जीलिङको लागि जबसम्म स्थायी राजनैतिक समाधानको व्यवस्था हुँदैन, तबसम्मको लागि जीटीएलाई खारेज गर्नुपर्छ।

किनभने, जीटीए एक असंवैधानिक व्यवस्था हो, यसैकारण नै यसको विरोधमा गोरामुमोले धेरै वर्षअघि नै जीटीएको वैधतामाथि प्रश्‍न गर्दै अदालतमा मुद्दा दर्ता गरेको हो। यति मात्रै होइन, गोरामुमोले जीटीएलाई खारेज नगरिएसम्म यहाँ एक सरकारी नोकरशाहलाई प्रशासक बनाएर राख्नुपर्ने पनि माग गरेको छ। लिम्बुसित  एक प्रश्‍न गर्दा उनले भने-जीटीएले जनाकांक्षा पूर्ण गर्दैन, यसैले जनाकांक्षा पूर्ण नगर्ने यो व्यवस्थालाई नराखेकै उचित हुनेछ। यस विषय लिएर गोरामुमोको एक प्रतिनिधि टोली शीघ्रै दिल्ली जान तय भएको छ। यसका साथै जीटीएलाई खारेज गर्ने दिशामा दिल्लीमा एक विशेष काम भइरहेको पनि लिम्बुले दावी गरे।

रूखमा पार्टीको झण्डा लगाउँदै गोरामुमो कार्यकर्ताहरू

गोरामुमो अध्यक्ष मन घिसिङले आजभन्दा लगभग 1 वर्षअघि नै जीटीएले पहिलेभन्दा पनि नराम्रो काम गरिरहेको आरोप लगाउँदै यहाँ पहिलेभन्दा अधिक घोटाला भइरहेको बताएका थिए। यसका साथै उनले पहाड समस्याको स्थायी राजनैतिक समाधान ननिस्किएसम्म जीटीएलाई जिल्लापाल वा जीटीएकै मुख्य सचिवको अधीनमा राखेर राखेर सञ्चालन गर्नुपर्ने माग उठाएका थिए। यति मात्रै होइन, उऩले दार्जीलिङ पहाड समस्याको स्थायी समाधानको लागि छैटौं अनुसूचीनै फिट हो भन्ने बताउँदै दार्जीलिङ पहाडको भू-भागको संवैधानिक वैधताको लागि पुनः गोरामुमोले सर्वोच्च न्यायालयको ढोका ढक्ढकाउने तय गरेको पनि बताएका थिए।

यसैबीच, जीटीए खारेज नगरेर यसको चुनाउ भए के गोरामुमोले जीटीएको चुलाउ लड्दैन? भन्ने प्रश्‍न गर्दा पार्टीका एक नेताले भने-हामी जीटीएको चुनाउ होस् भन्ने पक्षमा कदापि छैनौं। यसको चुनाउ होइन, यसलाई खारेज गरेर यसको अस्तित्व नै समाप्त गर्नुपर्ने पार्टीको माग हो। तरै पनि सरकारले जबर्जस्ती जीटीएको चुनाउ गर्छ भने यो चुनाउको मैदान खुल्ला पनि छोडिने छैन। किनभने, फेरि जीटीएको चुनाउमा उनीहरूकै जीत निश्‍चित बनाएर पार्टीले आफ्नै खुट्टामा बञ्चरो हान्नेछैन। यसैले यस दिशामा पार्टीको कस्तो सोंच र योजना छ, त्यो समय आएपछि नै छर्लङ्ग हुनेछ। यसै विषय लिएर विगत केही समयअघि गोरामुमोका तत्कानीन नेता एवं वर्तमान दार्जीलिङका विधायक निरज जिम्बाले गोरामुमोले जीटीएको विरोध गरे पनि यसको चुनाउमा कुनै एउटा पार्टीलाई एकलै कुदेर प्रथम हुन नदिने तय गरेको बताएका थिए।

यसको सोझो अर्थ गोरामुमोले जीटीएको चुनाउ भए, यसमा भाग लिनेछ। यसैले गोरामुमोले जीटीएको चुनाउ भए, यसमा गोरामुमोकै उम्मेद्वार नभएर स्वतन्त्र उम्मेद्वारका रूपमा प्रार्थी मैदानमा खडा गर्ने स्पष्ट संकेत दिएको छ। जिम्बाको स्पष्ट भनाई थियो-गोरामुमोले जीटीएको चुनाउ भए कुनै पनि पार्टीलाई एकलै कुदेर प्रथम हुन दिनेछैन। किनभने, शिवको चौकीमा भष्मासुर बस्न उचित होइन। यसैले जनताको हितमा कार्य गर्न भष्मासुरहरूलाई शिवको चौकीमा बस्न दिन उचित हुँदैन। यसैले गोरामुमोले समय आएपछि यसमाथि आफ्नो अडान स्पष्ट पार्नेछ।

Related Posts

leave a comment

Create Account



Log In Your Account