ताजा खबर :

तीनधारेमा भाषा मान्यता दिवस समारोहसितै कविता आवृत्ति, वाक पटुता र तर्क प्रतियोगिता सम्पन्न

तीनधारेमा भाषा मान्यता दिवस समारोहसितै कविता आवृत्ति, वाक पटुता र तर्क प्रतियोगिता सम्पन्न

प्रतिविम्ब न्यूज

खरसाङ 20 अगस्त।

साहित्य कला संस्थान तीनधारेको आयोजनामा 27 औं भाषा मान्यता दिवस समारोह तीनधारेको महात्मा गाँधी हलमा सम्पन्न भयो । वरिष्ठ व्यक्ति हरिप्रसाद छेत्रीको अध्यक्षता र पूर्व प्रधान अध्यापिका एंव वर्तमानमा ब्लु डाइमण्ड स्कूल घैयाबारीको प्राचार्य मार्थारानी राईको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा स्वागत सम्भाषण उत्तम शर्माले राखेका थिए । गीतकार सुकुमार बराईलीद्वारा सञ्चालित समारोहमा तीनधारे क्षेत्रका प्राथमिक पाठशालाका नानीहरूलाई लिएर कविता वृत्ति प्रतियोगिता राखिएको थियो यसमा सातवटा प्राथमिक पाठशालाका नानीहरूले सहभागिता जनाएका थिए । त्यसरी नै माध्यमिक स्तरको नानीहरूलाई लिएर वाक पटुता प्रतियोगिता राखिएको थियो भने स्वा रेणुका शर्मा स्मृति तर्क प्रतियोगिता आयोजना गरियो जसलाई विशाल शर्माले सञ्चालन गरेका थिए ।

तर्क प्रतियोगिताको विषय “भाषाको प्रयोगमाथि हामी सचेत छौं या छैनौं” रहेको थियो जसमा पक्षमा गोदावरी संघ गैरी गाउँ अनि विपक्षमा ग्राम कल्याण समिति नयाँ कमान रहेका थिए । तर्क प्रतियोगिताको सभाध्यक्षको रूपमा चन्दु भुसाल उपस्थित थिए ।यी तीनैवटा प्रतियोगितामा निर्णायकको रुपमा प्राध्यापक अमीर ठटाल, पूर्ण मास्के, कृष्णराज छेत्री र समयको लागि हिरण लकान्द्री उपस्थित थिए ।कार्यक्रममा गायकद्वय महेश सेवा र कर्म मोक्तानले गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा मिराज विश्वकर्मले पनि वक्तव्य राखेका थिए ।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै शिक्षाविद् मार्थारानी राईले नेपाली भाषाले भारतको संविधानको आठौं अनुसूचीमा मान्यता प्राप्त गरेको आज बढ़ादिन रहेको बताउँदै यो दिन हाम्रो लागि गर्वको दिन हो र यो कार्यक्रम आयोजना गरेर धन्यवादी भएका छन् भनी बताइन् । उनले हामीले हाम्रो भाषाको माया गर्छौं। भाषाले मान्यता पाएर मात्र हुँदैन तर भाषाको कदर गर्नुपर्छ र कागजतिर लेखेर ठूल्ठूलो कुरा गरेर मात्रै हुँदैन तर व्यवहारिक रूपमा भाषाको प्रयोग गर्नुपर्छ भनी बताइन् । प्रमुख अतिथिको रूपमा बोल्दै राईले अघि भनिन् – “हामीले रहन- सहन, खानपान, चरित्रमा पनि नेपाली भाषाको प्रयोग व्यवहारिक रूपमा गर्नुपर्छ, नानीहरूमा भाषा, संस्कृति, चाल चलन र अनुशासनमा साथै हाम्रो व्यवहार, बोलीचालीमा पनि मातृभाषाको प्रयोग गर्नुपर्छ, अरुको भाषा, संस्कृति जाने पनि आफ्नो भाषा र संस्कृति चाहिं पटक्कै बिर्सनु हुँदैन, हामीले आफ्नो नानीहरूलाई मातृ भाषामा शुध्द लेख्नु र बोल्नु र व्यवहारिक रूपमा प्रयोग गर्न सिकाउनुपर्छ, नानीहरूलाई नेपाली भाषामै अंक लेख्नु, वाक्य, उखान लेख्नु सिकाउनुपर्छ, हामी जति मातृ भाषामा खुलस्त हुन्छौं तेति अरू भाषामा हुँदैन, त्यसैले नानीहरूलाई पनि मातृ भाषाप्रतिको मोह र झुकाउ सिकाउनुपर्छ!।”

तीनधारेको प्राथमिक पाठशालाका नानीहरूलाई लिएर राखिएको कविता आवृत्ति प्रतियोगितामा प्रथम हरिजन अंग्रेजी स्कूलको लोगेन तामाङ, दोस्रो नयाँ कमान प्राथमिक पाठशालाका अश्विन मंगर अनि तेस्रो रंगटङ्ग दुई नम्बर प्राथमिक पाठशालाको एञ्जल लामा भएका छन् । त्यसरी नै वाक पटुता प्रतियोगितामा ब्लु डाइमण्ड स्कूल घैयाबारीकी युगना प्रधान प्रथम, रेणुका कन्या विद्यालयकी गरिमा ब्राह्मण दोस्रो र नेताजी हाई स्कूल घैयाबारीकी राखी छेत्री तेस्रो भएकी छन् । समारोहमा सम्पन्न तर्क प्रतियोगितामा नयाँ कमान ग्राम कल्याण समितिले बिजय हाँसिल गरेका छन् भने नयाँ कमान ग्राम कल्याण समितिकी युवाणी प्रधान सर्वोत्कृष्ट तार्किक छनौट भएकी छन् । कार्यक्रममा भाषामाथि दिपसिका लामाले लेख प्रस्तुत गरेका थिए । कार्यक्रममा सभाध्यक्ष हरिप्रसाद छेत्रीले छोटो वक्तव्य राखेका थिए भने धन्यवाद ज्ञापन साहित्य कला संस्थान तीनधारेको सभापति रञ्जन कुमार रसाईलीले राखेका थिए ।

Related Posts

leave a comment

Create Account



Log In Your Account