ताजा खबर :

स्थायी राजनैतिक समाधानको लागि प्रतिवद्ध छ भाजपा ः विष्ट

स्थायी राजनैतिक समाधानको लागि प्रतिवद्ध छ भाजपा ः विष्ट

दार्जीलिङ, 12 अगस्त।

दार्जीलिङका सांसद राजु विष्टले सोझै अलग राज्य गोर्खाल्याण्डको कुरा नगरे पनि जनताको इच्छा पूरा भएरै छोड्ने प्रतिवद्धता जाहेर गरे। संसद सत्र समाप्त भएपछि आफ्नो संसदीय क्षेत्रको भ्रमणमा आएका  सांसद आज मिरिक हुँदै दार्जीलिङ आइपुगे। मिरिकमा पार्टी कार्यकर्ता वा जनतासित भेट गरेपछि उनले पत्रकारहरूसित कुराकानी गर्दै भाजपा गोर्खा जातिको पक्षमा रहेको बताउँदै भाजपा सरकारले गोर्खा जातिको इच्छाको सही सम्मान गर्ने बताए। उनले भने-जम्मू-कश्मीर र लद्दाखले  केन्द्रशासित प्रदेश पाए भने दार्जीलिङले पनि अवश्यै पाउनेछ। यसको लागि सबै मिलेर काम गर्नुपर्छ।

एकर्कामाथि आरोप र प्रत्यारोप लगाइ रहँदा कसैको भलो हुनेछैन। यसैबीच, उनले स्थायी राजनैतिक समाधानको लागि वार्ता शुरू हुने बताउँदै यसको लागि संविधानअन्तर्गत ठोस काम भएरै छोड्ने बताए। उनले भने-गोर्खा जातिको भलाई कसैले गर्छ भने त्यो मोदी सरकारले मात्रै गर्नेछ। भाजपाले दार्जीलिङको लागि स्थायी राजनैतिक समाधानको वचन दिएको छ, त्यो पूरा गरेरै छोड्नेछ। उनले गोर्खाल्याण्डको सन्दर्भमा सोधिएको एक प्रश्‍नको उत्तरमा भने-स्थायी राजनैतिक समाधान एउटा प्रक्रिया हो, यसको लागि केही समय लाग्नसक्छ। तर जनताको मनमा जे छ, त्यसको लागि जनता निराश नहुँदा हुन्छ।

यसको लागि अवश्यै काम गर्नेछु। यसैबीच, उनले प्राथमिक चरणमा आफ्नो संसदीय क्षेत्रका 150 वटा गाउँमा विकासका कार्यहरू गर्ने प्रतिवद्धता जाहेर गर्दै प्रत्येक गाउँलाई आदर्श गाउँको रूपमा परिणत गर्ने बताए। प्रत्येक गाउँमा बाल-बालिकाहरूलाई पढाउने कोचिङ सेन्टरको स्थापना गर्ने, स्पोर्टस् क्लब बनाउने, वृद्ध, वृद्धा, महिलाहरूको स्वनिर्भर समूहहरू बनाउने, स्कील डेवलपमेन्ट सेन्टरहरू बनाउने जस्ता योजना तयार पारिएको पनि बताए। यसरी नै उनले दार्जीलिङ पहाडमा पञ्चायत चुनाउ नभएको विषयमाथि प्रकाश पार्दै बंगालमा सम्पूर्ण प्रक्रिया नै तहस नहस रहेको बताए। दार्जीलिङ पहाडमा मानव अधिकारको हनन भइरहेको छ। यसैकारण नै भारतीय जनता पार्टीमा सामेल भएका दार्जीलिङका नगरपार्षदहरू अहिलेसम्म आफ्नो घर नै फर्किन नपाएको पनि बताए। उनीहरू दार्जीलिङ आउन साथ पुलिसले पक्रेर जेलमा हालिदिने डर छ।

यस्तो संत्रासमा जनता कहिलेसम्म बस्छन्? उनले विनय तामाङपन्थी गोर्खा जनमुक्ति मोर्चामाथि कटाक्ष प्रहार गर्दै भने-यदि गोजमुमो साँच्चै जातिको लागि इमान्दार छ भने आजै जीटीए त्यागेर देखाओस्। हामी एकसाथ मिलेर काम गर्न तयार छौं। यसरी नै दार्जीलिङ पहाडमा पञ्चायत चुनाउबारे भाजपाको अडानबारे प्रश्‍न गर्दा उनले दार्जीलिङ पहाडमा तीन स्तरीय पञ्चायत चुनाउ हुनपर्ने बताउँदै यसको लागि संविधान संशोधन गर्नुपर्छ भने त्यो पनि गर्न भाजपा तयार रहेको जनाए।

Related Posts

leave a comment

Create Account



Log In Your Account