नारी स्रष्टा उर्मिला घिसिङलाई : अरूगि साहित्यिक पुरस्कार 2019 प्रदान गरिने

नारी स्रष्टा उर्मिला घिसिङलाई : अरूगि साहित्यिक पुरस्कार 2019 प्रदान गरिने

प्रतिविम्ब न्यूज

खरसाङ 12 अगस्त।

खरसाङको पुरानो साहित्यिक संस्थाहरूमध्ये एक मानिने अरूगि साहित्य संस्थानले वार्षिक रूपमा प्रदान गर्ने अरूगि साहित्यिक पुरस्कार यसपाली वरिष्ठ नारी स्रष्टा उर्मिला घिसिङलाई प्रदान गरिने भएको छ । सन् 1978 सालमै स्थापित यस संस्थानले सन् 1990 सालदेखि लगातार रूपमा साहित्यिक पुरस्कार प्रदान गर्दै आईरहेका छन् भने यसपाली 14 वर्षपछि फेरि एकजना नारी स्रष्टालाई यो पुरस्कार प्रदान गर्ने भएको छ । योभन्दा अघाड़ी प्रथमपटक कालेबुङ निवासी वरिष्ठ साहित्यकार सम्पूर्णा राईलाई यो पुरस्कार प्रदान गरिएको थियो भने सन् 2005 मा कथाकार मटिल्डा राईलाई यो पुरस्कार प्रदान गरिएको थियो । त्यसपछि 14 वर्षपछि फेरि संस्थानद्वारा अरूगि साहित्यिक पुरस्कार यसपाली वरिष्ठ नारी स्रष्टाहरूको कृतित्त्व, व्यक्तित्त्व, भाषा र साहित्यप्रतिको योगदानलाई हेरेर प्रदान गरिने भएको थियो । त्यसैको आधारमा यसपाली 2019 को अरूगि साहित्यिक पुरस्कार सुकना निवासी वरिष्ठ नारी स्रष्टा उर्मिला घिसिङलाई प्रदान गरिने घोषणा अरूगि साहित्यिक संस्थानको सभापति सुखबहादुर सुनवारले गरेका छन् । विज्ञ निर्णायकहरुका निर्णयानुसार उक्त पुरस्कार उर्मिला घिसिङलाई प्रदान गरिने भएको छ । स्रष्टा उर्मिला घिसिङले सन् 1968 अघि नै साहित्यमा प्रवेश गरेकी हुन् भने उनको सन् 2010 मा “उच्छवास” कविता संग्रह, सन् 2016 मा “मृगतृष्णा ” एकांकी नाटक, सन् 2018 मा “विम्ब कविता ” कविता संग्रह अादि कृतिहरू प्रकाशित छन् । उनले विभिन्न साहित्यिक पुरस्कारहरू र सम्मानहरू पनि प्राप्त गरिसकेकी छन् । यसपाली अरूगि साहित्यिक पुरस्कार आगामी 15 सेप्टेम्बरको दिन खरसाङको पार्क लोकेशनस्थित सार्वजनिक भवनमा हुने साहित्यिक कार्यक्रममा प्रदान गरिने जानकारी अरूगि साहित्य संस्थानको सचिव ग्याल्पो लामाले दिएका छन् । उनले यस पुरस्कारमा प्रशंसा पत्र, अंग वस्त्र, अरूगि अंकित चाँदीको प्रतिक र 11001 ( एघार हजार एक) रूपियाँ रहने पनि बताएका छन् । उक्त अरूगि साहित्यिक पुरस्कार सम्मान् समारोहमा संस्थानको आजीवन सदस्या साहित्य अकादमी पुरस्कार प्रापक नारी स्रष्टाद्वय डा वीणा हाङखिम र मणिका मुखियालाई पनि सम्बर्द्धना गरिने भएको छ ।

leave a comment

Create Account



Log In Your Account