अलग राज्यको मागमा सबै पार्टीलाई एकमत आह्वान

अलग राज्यको मागमा सबै पार्टीलाई एकमत आह्वान

प्रतिविम्ब न्यूज

दार्जीलिङ, 10 अगस्त।

जनआन्दोलन पार्टीले दार्जीलिङ पहाडका सम्पूर्ण राजनैतिक पार्टीहरूलाई अलग राज्यको मागमा एकवद्ध बन्ने आह्वान गरेको छ। पार्टी प्रवक्ता भुवन छेत्रीले आज यहाँका राजनैतिक पार्टीहरूलाई एकै स्वरमा अलग राज्यको माग उठाउने आह्वान गर्दै भने-हाल दार्जीलिङ पहाडका राजनैतिक पार्टीहरूको आ-आफ्नै माग र मुद्दाहरू छन्। कसैले छैटौं अनुसूचीको माग उठाइरहेको छ भने कुनै पार्टीले अलग राज्य, कसैले स्वायत्त शासन आदिको माग उठाइरहेका छन्। यसैले गोर्खा जातिको मतमा नै विभाजन देखा परेकोले गर्दा पनि भारत सरकारले गोर्खा जातिको अलग राज्यको मागमाथि कुनै चासो नदेखाएको हो।

यसैले दार्जीलिङ पहाडका सम्पूर्ण राजनैतिक पार्टीहरूले एउटै स्वरमा अलग राज्यको मागलाई अघि बढाउनुपर्छ। उनले भने-दार्जीलिङ पहाडमा अलग राज्यको माग घरिघरि उठ्ने गरेको छ अनि यसको लागि वृहत आन्दोलन पनि भएका छन्। तर ती आन्दोलनहरूपछि जहिले पनि दार्जीलिङ पहाडको लागि वैकल्पिक व्यवस्थाका रूपमा घर दागोपाप (दार्जीलिङ गोर्खा पार्वत्य परिषद), घर जीटीए (गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन) आदिको गठन गरियो। जसले गोर्खा जाति वा दार्जीलिङ पहाडका जनताको आकांक्षा पूर्ण गर्न सकेन।

17औं लोकसभा चुनाउमा पनि भारतीय जनता पार्टीले दार्जीलिङको लागि स्थायी राजनैतिक समाधानको कुरा आफ्नो चुनावी घोषणा पत्रमा उल्लेख गरेको थियो। तर राजनैतिक समाधान कहिले पनि स्थायी हुन सक्तैन। यसैले राजनैतिक समाधानको रूपमा अलग राज्य नै हुनपर्छ भन्ने पनि जनआन्दोलन पार्टीका प्रवक्ता छेत्रीले भनाई छ। उनले छैटौं अनुसूची राज्यभित्रकै एउटा व्यवस्था हो भन्ने बताउँदै यसको साटो गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले पनि सोझै अलग राज्यकै माग उठाउनपर्ने सुझाउ दिए। यस विषय लिएर गोरामुमो अध्यक्ष मन घिसिङले गत महीना दिएको बयानको पनि उनले स्वागत जनाए। तर गोरामुमोके तल्लो दर्जाका नेतृत्वहरूले छैटौं अनुसूचीकै कुरा उठाइरहेकामा भने उनले दुःख व्यक्त पनि गरे।

उनले भने-वर्तमानमा देशले लिएको निर्णयलाई केन्द्र गरेर पनि दार्जीलिङ पहाडले अलग-अलग माग उठाउनु उचित हुनेछैन। यसका साथै उनले यसपाली केन्द्र सरकारले गोर्खा जातिलाई न्याय दिन्छ भन्ने आशा लागेको पनि बताए। यस विषय लिएर शीघ्रै पार्टीले केन्द्र सरकारलाई पत्राचार गर्ने योजना बनाएको पनि बताए। यसैबीच, जनआन्दोलन पार्टीका जिल्ला समन्वयक निमा ग्याम्सो शेर्पाले संगठन बिस्तारको क्रम जारी रहेको बताउँदै विशेष दार्जीलिङ पहाडका सचेत युवाहरूलाई सक्रिय राजनीतिमा अघि आएर दार्जीलिङ पहाडको बिग्रिएको व्यवस्थालाई राम्रो बनाउने आह्वान गरे। यसै विषयलाई लिएर पार्टीको शीघ्रै एक बैठक हुने तय भएको पनि उनले जानकारी गराए। यस बैठकमा नै पार्टीका भावी कार्यक्रमहरू तय गरिने पनि उनले बताएका छन्।

Related Posts

leave a comment

Create Account



Log In Your Account