ताजा खबर :

बोनस बैठक दार्जीलिङमा नै हुनपर्छ, नत्र बहिष्कारः डीटीडीपीएलयू

बोनस बैठक दार्जीलिङमा नै हुनपर्छ, नत्र बहिष्कारः डीटीडीपीएलयू

समय संवाददाता

दार्जीलिङ, 10 अगस्त।

विनय तामाङपन्थी गोजमुमोको श्रमिक संगठन डीटीडीपीएलयू (दार्जीलिङ तराई डुवर्स प्लान्टेशन लेबर युनियनले यसपालीको बोनस बैठक जबर्जस्ती कलकत्तामा गरिए, त्यसमा भाग नै नलिने घोषणा गर्यो। यसका साथै संगठनले यसपाली 20 प्रतिशतभन्दा एक पैसा पनि कम्ति दरको बोनसमा सम्झौता नगर्ने पनि अडान स्पष्ट पार्यो।

आज दार्जीलिङ पहाडका चियाश्रमिकहरूको बोनस विषय लिएर दार्जीलिङ तराई डुवर्स प्लान्टेशन लेबर युनियनले एक सभा गरेको थियो। यसै सभापछि पत्रकारहरूलाई सम्बोधन गर्दै संगठनका कार्यकारी अध्यक्ष जेबी तामाङले भने-तराई-डुवर्सका चियाश्रमिकहरूको बोनस विषय लिएर चियाबगान मालिकहरूको संगठन सीसीपीयूले आगामी 31 अगस्त र 1 सितम्बरको दिन कलकत्तामा बैठक गर्ने भएको छ। यसैले यसअघि नै दार्जीलिङ पहाडका चियाश्रमिकहरूको बोनस विषय लिएर पनि बैठक शुरू गर्नुपर्छ।

तर यसपाली बोनस बैठक दार्जीलिङमा नै हुनपर्छ अनि यसमा 20 प्रतिशतको दरले बोनस तय हुनुपर्छ। यदि चियाबगान मालिकपक्षले दार्जीलिङका चियाश्रमिकहरूको बोनसको बैठक कलकत्तामा बैठक गर्ने जबर्जस्ती गर्छ भने त्यो बैठकलाई डीटीडीपीएलयू-ले बहिष्कार गर्नेछ।

स्मरण गराइन्छ, दार्जीलिङ पहाडका चियाश्रमिकहरूलाई वर्ष 2011-देखि 20 प्रतिशतको दरले बोनस दिन शुरू गरिएको थियो भने चियाबगानहरूको वर्गीकरणको प्रथालाई पनि हटाइएको थियो। यसअघिसम्म दार्जीलिङ पहाडका 87 वटा चियाबगानलाई ए, बी, सी र डी श्रेणीमा वर्गीकृत गरिएको थियो अनि यसै वर्गको आधारमा नै बोनस दर पनि तय हुने गर्थ्यो। तर वर्ष 2011-देखि यो प्रथालाई हटाएर सबै चियाबगानलाई एउटै वर्गमा राखेर सबैको लागि 20 प्रतिशतको बोनस दर तय हुँदै आइरहेको थियो।

तर 2017-को गोर्खाल्याण्ड आन्दोलनको कारण 105 दिन पहाड अचल बनेको विषयलाई आधार बनाएर गत वर्ष चियाबगान मालिकपक्षले यहाँका चियाश्रमिकहरूलाई 8.33 प्रतिशतको दरले मात्रै बोनस दिने घोषणा गरेको थियो। जसलाई पहाडका सम्पूर्ण श्रमिक संगठनहरूले विरोध जनाएपछि अन्ततः 15 प्रतिशतको बोनस दर तय भएको थियो। यद्यपि, अन्य श्रमिक संगठनहरूले यसको खुलेर विरोध जनाए अनि 20 प्रतिशतकै बोनस दिनुपर्ने मागमा अडिग रहे।

यसबारे एक प्रश्‍न गर्दा तामाङले केही भन्न मानेनन्। तर समय, परिस्थितिको कारण गत वर्ष 15 प्रतिशतको बोनस दरमा राजी बन्नपरेको संगठनका महासचिव भरत ठकुरीले बताए। यसरी नै ठकुरीले चियाश्रमिकहरूका विविध माग अनि समस्या समाधानको लागि आगामी सोमबारदेखि डीटीडीपीएलयूले पहाडका सम्पूर्ण चियाबगानहरूमा गेटसभा गर्ने तय गरेको पनि जानकारी गराए। उनले भने-चियाबगान मालिकहरूले आफ्नो सुविधा र लाभको लागि मात्रै प्लान्टेशन लेबर एक्टको कुरा गर्ने गरेको छ, तर चियाश्रमिकहरूको लागि यो एक्टले दिएको सुविधाको लागि वास्ता नै गर्दैन।

यसैले चियाश्रमिकहरूलाई यो एक्टअनुसार जे-जति सुविधा-सहुलियत दिनुपर्छ, त्यो दिएकै हुनपर्छ। यदि प्लान्टेशन लेबर एक्टअनुसार चियाश्रमिकहरूले सुविधा-सहुलियत पाउँदैन भने त्यो एक्ट जलाइनेछ, उनले कठोर चेताउनी दिए। यसैबीच, संगठनका कार्यकारी अध्यक्ष तामाङले चियाश्रमिकहरूको समस्या, बोनस तथा अन्य विविध माग विषय लिएर आगामी 15 अगस्तपछि दार्जीलिङमा एक जनसभाको आयोजना गर्ने तय गरिएको पनि बताए।

Related Posts

leave a comment

Create Account



Log In Your Account