ताजा खबर :

सक्रिय बन्ने दिशामा तृणमूल कंग्रेस

सक्रिय बन्ने दिशामा तृणमूल कंग्रेस

प्रतिविम्ब न्यूज

दार्जीलिङ, 10 अगस्त।

दार्जीलिङ हिल तृणमूल कंग्रेसले पार्टी बिस्तारको कार्य शुरू गर्यो। तर विनय तामाङपन्थी गोजमुमोसितको सम्बन्धमा कुनै नकारात्मक प्रभाव पर्न नदिने विषयलाई पनि पार्टीले ध्यान दिने भएको छ।

आज पार्टी बिस्तारकै क्रमलाई अघि बढाउने ध्येय राखेर हिल तृणमूल कंग्रेसले आफ्ना विभिन्न भ्रातृ संगठनमा संयोजकहरू पनि मनोनित गर्यो। जसमा व्यापक चर्चा परिचर्चापछि तृणमूल कंग्रेसको नारी संगठन, माइनोरिटी सेल, युवा एकाई, श्रमिक संगठनका साथै अन्-अर्गनाइज्ड सेक्टरमा संयोजकहरू मनोनित गरिएको कोर कमिटी प्रवक्ता एनबी खवासले बताए। उनले भने-हिल तृणमूल कंग्रेसका अध्यक्ष एलबी राईको अध्यक्षतामा गछन भएको हिल तृणमूल कंग्रेस कोर कमिटीले आज आफ्नो प्रथम बैठक गर्यो। जसमा पार्टीलाई कसरी बिस्तार गर्नेबारे चर्चा भएको उनले जनाए।

उनले भने-गोजमुमो र तृणमूल कंग्रेसको सम्बन्ध यथावत रहनेछ, तरै पनि जसलाई तृणमूल कंग्रेसको नीति, सिद्धान्त आदि मनपर्छ, उनीहरू पार्टीमा आउन सक्छन्। उनले भने-वर्ष 2017-को गोर्खाल्याण्ड आन्दोलनले दार्जीलिङ हिल तृणमूल कंग्रेसलाई लगभग निष्क्रिय नै बनाएको थियो अनि पार्टीका धेरै नेतृत्वहरू पनि सुस्त बनेका थिए। उनीहरूलाई पुनः सक्रिय बनाउने योजना बनाइएको छ। उनले आज पुनः सक्रिय बनाइएको तृणमूल महिला कंग्रेसमा संयोजक राज्यसभा सांसद शान्ता छेत्री, संयुक्त संयोजक रेजिना गुरूङलाई बनाइएको पनि जानकारी गराए।

दार्जीलिङ हिल तृणमूल महिला कंग्रेस अध्यक्षा शारदा राई सुब्बाले पार्टी छोडेपछि यो पद रिक्त बनेको थियो। जसमा आज पार्टीले शान्ता छेत्रीलाई संयोजक अनि रेजिना गुरूङलाई संयुक्त संयोजक बनाएको छ। यसरी नै माइनोरिटी सेलमा संयोजक आरिफ खान, श्रमिक संगठन संयोजक दिपक प्रधान, एनबी खवास, अन्-अर्गनाइज्ड सेक्टर संयोजक प्रदीप प्रधानलाई बनाइएको पनि खवासले जानकारी गराए।

Related Posts

leave a comment

Create Account



Log In Your Account