खेलकुदमय बन्नेछ स्वतन्त्रता दिवस

खेलकुदमय बन्नेछ स्वतन्त्रता दिवस

प्रतिविम्ब न्यूज

दार्जीलिङ, 6 अगस्त।

दार्जीलिङ पहाडमा यसपाली खेलकुदमय हुनेछ स्वतन्त्रता दिवस समारोह। स्वतन्त्रता दिवस समारोहको अवसरमा यसपाली दार्जीलिङ पहाडका विभिन्न स्थानहरूमा फूटबलसँगै म्याराथान प्रतियोगिताहरूको आयोजना हुने तय भएको छ। आगामी 15 अगस्तको दिन दार्जीलिङमा जीटीएको आयोजना अनि दार्जीलिङ हिल रनर्सको सहयोगमा 15 किलोमिटरको खुल्ला म्याराथान प्रतियोगिताको आयोजना गरिने भएको छ भने मिरिकमा फूटबलासँगै म्याराथान प्रतियोगिता हुने भएको छ।  मिरिकमा आगामी 7 अगस्तदेखि नै इन्टर स्कूल इन्डिपेन्डेन्स च्यालेञ्ज कप फूटबल प्रतियोगिता शुरू हुने भएको छ।

मिरिक स्पोर्टस् एसोसिएशन र मिरिक युथ क्लबको संयुक्त आयोजनामा सम्पन्न हुनेयस प्रतियोगितालाई महिला र पुरूष वर्गमा विभाजन गरिएको छ। यसको लागि मिरिक स्पोर्टस् एसोसिएशन कार्यालयमा इन्टर स्कूल इन्डिपेन्डेन्स च्यालेञ्ज कप 2019-को फिक्सचर पनि सार्वजनिक पनि गरियो। एमएसए स्पोर्टस् को-अर्डिनेटर कुशल राई, कोषाध्यक्ष ऋषि योञ्जन, सदस्य सुदर्शन छेत्री अनि मिरिक युथ क्लबका सचिव आनन्द जोहनले संयुक्तरूपमा फिक्सचर सार्वजनिक गरे।

यस अवसरमा स्पोर्टस् को-अर्डिनेटर कुशल राईले भने-यस फूटबल प्रतियोगितामा मिरिक महकुमाअन्तर्गत विभिन्न विद्यालयहरूले अङ्श ग्रहण गर्नेछन्। यसका साथै उनले स्वतन्त्रता दिवस समारोहको अवसर पारेर ओपन हाफ म्याराथानको पनि आयोजना गरिने जनाए। उनले भने-ओपन हाफ म्याराथन पनि पुरुष र महिला वर्गमा विभाजन गरिएको छ। जसमध्ये पुरुष वर्गमा प्रथम हुने धावकलाई नगद 30 हजार, दोस्रो धावकलाई नगद 20 हजार अनि तेस्रो हुने धावकलाई 10 हजार पुरस्कार प्रदान गरिने भएको छ। उनले पुरुष वर्गमा टप टेनसम्म आउने धावकहरूलाई पनि एक-एक हजार नगद राशि पुरस्कार प्रदान गरिने बताए। स्पोर्टस् को-अर्डिनेटर कुशल राईले दिएको जानकारीअनुसार, महिला हाफ म्याराथनमा प्रथम हुने धावकलाई नगद 20 हजार, दोस्रो हुनेलाई 15 हजार अनि तेस्रोलाई नगद 7 हजार पुरस्कार प्रदान गरिनेछ।

यसमा मिरिकलगायत पहाड, तराईका इच्छुक धावकहरूले पनि अङ्शग्रहण गर्नसक्छन्। यसरी नै दार्जीलिङमा पनि जीटीएको आयोजना अनि दार्जीलिङ हिल रनर्सको सहयोगमा 15 किलोमिटरको खुल्ला म्याराथान प्रतियोगिताको आयोजना गरिने भएको छ। हिल रनर्सका सचिव दिनेश लामाले बताएअनुसार, घूम डीआरसी गोदामअघिदेखि शुरू हुने यो म्याराथान लेबोङस्थित गोर्खा स्टेडियममा समाप्त हुनेछ। जुन म्याराथानले प्लास्टिकमुक्त दार्जीलिङको सन्देश पनि बोक्ने भएको उनले जनाए।

उनले भने-हाल दार्जीलिङ पहाडका युवा-युवतीहरू मैदानमा खेलकुदको साटो मोबाइल फोन र ल्यापटपमा नै समय बिताउने गरिरहेका छन्। यसैले युवावर्गलाई खेलकुदतिर प्रोत्सहित तुल्याउनु पनि यो म्याराथानको अर्को मूल उद्देश्य् हो। उनले यस म्याराथानमा प्रथम, दोस्रो र तेस्रो हुने प्रतियोगीलाई क्रमैले 15, 12 र 7 हजार रूपियाँ नगद राशि प्रदान गरिने भएको बनि बताए। यस अवसरमा दार्जीलिङ हिल रनर्सले दार्जीलिङका दुइजना वृद्ध धावकहरूलाई सम्बर्द्धना जनाउने भएको छ।

Related Posts

leave a comment

Create Account



Log In Your Account