ताजा खबर :

फेरि चर्किने भयो मिनिमम वेजेस एक्टको माग

फेरि चर्किने भयो मिनिमम वेजेस एक्टको माग

प्रतिविम्ब न्यूज

दार्जीलिङ, 31 जुलाई।

भोलि एकपल्ट फेरि दार्जीलिङ पहाडका चियाबगानहरूमा चर्किनेछ मिनिमम वेजेस एक्टका साथै पर्जा-पट्टाको माग। यो माग लिएर जोइण्ट फोरमले भोलि 1 अगस्तको दिन सम्पूर्ण चियाबगानहरूमा र्याली निकाल्ने अनि नजिकका सरकारी कार्यालयहरूमा ज्ञापन पेश गर्ने कार्यक्रम तय गरेको छ। यसको लागि जोइण्ट फोरमले अघिबाटै एक सभा गरेर कार्यक्रम तयार पारेको जोइण्ट फोरमका सदस्यहरू क्रमैले अमर लामा, जेबी तामाङ, सुनिल राई आदिले जानकारी गराएका छन्।

जेबी तामाङले गोरामुमो छोडेर गोजमुमोमा सामेल भएपछि उनलाई गोजमुमोले आफ्नो श्रमिक संगठन दार्जीलिङ तराई डुवर्स प्लान्टेशन लेबर युनियनको कार्यकारी अध्यक्ष बनाएको छ। उनी गोजमुमोमा सामेल भएपछि दार्जीलिङ तराई डुवर्स प्लान्टेशन लेबर युनियन पनि जोइण्ट फोरममा सामेल भएको छ। जसले भोलि जोइण्ट फोरमले तयार पारेको कार्यक्रममा भाग लिने योजना बनाएको जेबी तामाङले बताएका छन्।

यसअघिसम्म विनय तामाङपन्थी गोजमुमोको  श्रमिक संगठन र तृणमूल कंग्रेसको श्रमिक संगठन जोइण्ट फोरममा सामेल थिएन। यद्यपि, यो संगठन जोइण्ट फोरममा सामेल भएपछि यसले चियाश्रमिकहरूको आन्दोलनलाई तीब्र बनाएर लाने पनि घोषणा गरेको छ। तामाङले भने-चियाश्रमिकहरूलाई मिनिमम वेजेस एक्टअनुसार दैनिक रोजी प्रदान गर्नुपर्न माग लिएर जोइण्ट फोरमले विगत धेरै वर्षदेखि आन्दोलन गरिरहेको छ।

यसका साथै चियाश्रमिक वा चियाबगानमा वर्षौंदेखि बसोबासो गर्दै आइरहेकाहरूलाई जमीनको मालिकाना अधिकार प्रदान गर्नुपर्ने साथै अन्य मागहरू लिएर जोइण्ट फोरमले आन्दोलन गरिरहेको छ। यसैको लागि 1 अगस्तको दिन फेरि सम्पूर्ण चियाबगानहरूमा र्याली निकाल्ने अनि यी मागहरू लिएर सम्बन्धित अधिकारीवर्गका साथै सरकारी कार्यालयहरूमा ज्ञापन पेश गर्ने कार्यक्रम तयार पारिएको छ। यसको लागि प्रत्येक श्रमिकहरूले अघि आएर आफ्नो हक र अधिकारको लागि साथ दिनुपर्छ।

यसरी नै जनआन्दोलन पार्टीका व्यूरो सदस्य अमर लामाले पनि 1 अगस्तको कार्यक्रमलाई जोडदार बनाउनको लागि सबैलाई अघि आइदिने आह्वान गर्दै ज्ञापन दिने कार्यक्रमपछि सबै चियाश्रमिकहरू आफ्नो काममा जानसक्ने भएको पनि बताए। यसका साथै जोइण्ट फोरमको हिल सब्-कमिटीका प्रवक्ता वा क्रामाकपाको श्रमिक संगठन दार्जीलिङ तराई डुवर्स चियाकमान मजदूर युनियनका सचिव सुनिल राईले पनि चियाश्रमिकहरूको लागि तय गरिएको कार्यक्रमलाई सफल तुल्याउने दायित्व सबै चियाश्रमिकहरूको हो भनेका छन्।

Related Posts

leave a comment

Create Account



Log In Your Account