ताजा खबर :

क्षयरोग लागेको दार्जीलिङको टीबी अस्पताल

क्षयरोग लागेको दार्जीलिङको टीबी अस्पताल

प्रतिविम्ब न्यूज

दार्जीलिङ, 31 जुलाई।

दार्जीलिङको टीबी हस्पिटललाई क्षयरोग लागेको छ। जसलाई डाक्टरको अति नै खाँचो छ। हाल यस टीबी अस्पतालमा न डाक्टर छ, न उपचार गराउन आउने क्षयरोगी नै छन्। यहाँ रोगी पनि किन  आउँछन्, जुन अस्पताललाई नै उल्टा उपचारको खाँचो छ।

क्षयरोगीहरूको उपचार गर्न आजभन्दा लगभग 56 वर्षअघि स्थापना भएको दार्जीलिङको बतासेस्थित टीबी अस्पतालको वर्तमान अवस्था हेर्दा नै यस अस्पताललाई उपचारको खाँचो रहेको स्पष्ट भएको छ। यसै अस्पतालको आज गोर्खा राष्ट्रिय नारी मोर्चाको एक प्रतिनिधि टोलीले भ्रमण गर्यो अनि यसको दुरावस्थामाथि गम्भीर चिन्ता व्य्क्त गरेको छ।

टीबी अस्पतालको नोटिस

यस अस्पतालको भ्रमण गरेपछि पत्रकारहरूसित कुराकानी गर्दै गोरानामो नेत्री मञ्जिला तामाङले भनिन्-दार्जीलिङको स्वास्थ्य व्यवस्थाको अवस्था अस्त-व्यस्त छ। दार्जीलिङको यो टीबी अस्पताल मात्रै होइन, मेरीभिल्लास्थित चेस्ट क्लिनिकको अवस्था पनि खराब छ। यसैले यस विषयमा सम्बन्धित विभाग र अधिकारीवर्गले उचित ध्यान दिन आवश्यक छ। यो टीबी अस्पतालको छप्पर चुहुने भइसकेको छ, भित्तातिर लेऊ उम्रिसकेको छ भने रोगी सुत्ने बेडमा खिया लागिसकेको छ। तर यस भवनमा टाँसिएको नोटिसले जनतालाई क्षयरोगसित नडराउने पनि अपील गरेको छ।

नोटिसमा क्षयरोगसित नडराउने अपील गरिएको छ अनि यो रोग निको हुने हो भन्ने पनि बताइएको छ। जसको लागि ठीक ढङ्गले उपचार गराउने सल्लाह दिइएको छ। तर स्वयं यो अस्पताललाई नै ठीक उपचारको खाँचो रहेको कारण यसमाथि सम्बन्धित विभागले उचित ध्यान दिए उचित हुनेछ। उनले भनिन्-पहिला यो टीबी अस्पताल लासाभिल्लामा अवस्थित थियो, तर टीबी एउटा सरूवा रोग भएको कारण यसलाई सन् 1963-मा बतासेमा सारिएको हो। जसमा 50 वटा पलङ्ग छन्, तर यी पलङ्गमा सुत्ने एकैजना पनि रोगी छैन। न रोगीको स्वास्थ्य जाँच गर्ने डाक्टर नै छ।

उनले यस अस्पतालमा 3 जना मेडिकल अफिसर र 3 जना फार्मासिस्टको आवश्यकता रहेको भए पनि यहाँ एकैजना मेडिकल अफिसर नरहेको बताएकी छन्। यद्यपि, उनले यहाँ विगत निकै समयदेखि एकैजना रोगी नरहे पनि नर्स तथा अन्य कर्मचारीहरू लगातार आफ्नो काममा आइरहेको पनि जानकारी गराइन्। यो अस्पतालको अवस्था जीर्ण बन्नका साथै यहाँ डाक्टरहरू नरहेको कारण हाल टीबी रोगीहरूलाई उपचारको लागि दार्जीलिङ जिल्ला अस्पतालमा नै राख्ने गरिएको पनि बताइन्। जुन अन्य सामान्य रोगीहरूको लागि खतरा हुनसक्ने पनि उनले आशङ्का व्यक्त गरेकी छन्। यसका साथै उनले जबसम्म यस अस्पतालमा डाक्टरको नियुक्ति हुनेछैन, तबसम्म आफूहरू यसको लागि लागिपर्ने पनि प्रतिवद्धता जाहेर गरेकी छन्।

Related Posts

leave a comment

Create Account



Log In Your Account