वर्ष 2020-भित्र हात-हातमा पर्जा-पट्टा दिने वाचासँगै गोजमुमोका आधिकारिक उम्मेद्वार बने विनय तामाङ

वर्ष 2020-भित्र हात-हातमा पर्जा-पट्टा दिने वाचासँगै गोजमुमोका आधिकारिक उम्मेद्वार बने विनय तामाङ

प्रतिविम्ब न्यूज

दार्जीलिङ, 23 अप्रेल।

वर्ष 2020-भित्र प्रत्येकको हातमा पर्जा-पट्टा थमाउने वाचा गर्दै गोजमुमोले आज आधिकारिकरूपमा पार्टी अध्यक्ष विनय तामाङलाई दार्जीलिङ विधानसभा उपचुनाउको उम्मेद्वार घोषणा गर्यो।

आज यहाँको एक होटलमा गोजमुमो केन्द्रिय समितिको एक बैठक भएको थियो। जसमा गोजमुमो केन्द्रिय समितिसँगै पार्टीका विभिन्न भ्रातृ संगठनहरूका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। 4 घण्टाभन्दा अधिक समयसम्म चलेको यस बैठकपछि गोर्खा जनमुक्ति नारी मोर्चा अध्यक्षा छिरीङ दाहालले पार्टी अध्यक्ष विनय तामाङलाई सर्वसम्मतिले दार्जीलिङ विधानसभा आसनको उपचुनाउको उम्मेद्वार बनाएको घोषणा गरिन्।

उनले भनिन्-राज्य सरकारसित राजनैतिकसँगै कुटनैतिक सम्बन्ध कायम गर्न गोजमुमो अध्यक्ष विनय तामाङ सफल बनिरहेका छन् र यो सम्बन्धलाई जारी राखेर पहाडमा विकासको खोला बगाउने सोंच राखेर नै पार्टीले तामाङलाई उम्मेद्वार बनाउने निर्णय लिएको हो। जसको यस चुनाउमा जीत भएको खण्डमा हिल अफेयर्स विभाग मन्त्री बन्ने निश्‍चित छ। उनी हिल अफेयर्स मन्त्री बनेको खण्डमा पहाडको लागि धेरै कामहरू गर्न सकिनेछ अनि धेरैवटा विषयमा निर्णय पनि लिन सकिनेछ। यसैले आगामी वर्ष 2020-भित्र दार्जीलिङ पहाड अनि तराईका भूमिहीनहरूलाई जमीनको मालिकाना अधिकार दिलाउने हाम्रो संकल्प छ।

उनले भनिन्-दार्जीलिङ पहाडका 80 प्रतिशतभन्दा अधिक जनतासित आफू बसेको जमीनको मालिकाना अधिकार वा पर्जा-पट्टा नै छैन। यसैकारण यसलाई गोजमुमोले यस उपचुनाउमा आफ्नो मूल मुद्दा बनाउने निर्णय गरेको छ। किनभने, केन्द्रको भाजपा सरकारले बंगालमा एनआरसी लागू गर्ने प्रयास गरिरहेको छ र दार्जीलिङ पहाडका गोर्खा जातिलाई 1950-को भारत-नेपाल मैत्री सन्धिसित जोड्ने प्रयास गरिरहेको छ। यसैले यदि हामीसित हाम्रो जमीनको पर्जा-पट्टा छ भने एनआरसी लागू भए पनि हामीमाथि कुनै नकारात्मक प्रभाव पर्नेछैन। यसरी नै गोजमुमोले यस उपचुनाउको लागि चियाश्रमिकहरूका लागि मिनिमम वेजेस एक्ट लागू गर्नुपर्ने, दार्जीलिङ नगरपालिकालाई महा-नगरपालिकाको दर्जा दिलाउऩे, सोनादा, सुकेपोखरी आदि क्षेत्रलाई नगरपालिका बनाउनुपर्ने, बिजनबारीलाई महकुमाको दर्जा दिनुपर्ने साथै बेरोजगार समस्यालाई पनि चुनावी मुद्दा बनाउने निर्णय लिएको छ।

यसैबीच, आगामी 26 अप्रेलको दिन गोजमुमो प्रार्थी विनय तामाङले आफ्नो नामाङ्कन पत्र दर्ता गर्ने भएका छन्। दाहालले पत्रकारहरूसित कुराकानी गर्दै अझै अघि भनिन्-वर्तमान समयमा राज्यमा तृणमूल कंग्रेसको सरकार छ अनि यो सरकारको कार्यकाल वर्ष 2021-सम्म जारी रहनेछ। यसैले यदि यस चुनाउमा विपक्षी पार्टीका उम्मेद्वारले जीत हासिल गरे, उनले राज्यबाट पहाडको लागि के ल्याउन सक्छन्? यसैले दार्जीलिङ विधानसभा आसनका जनताले विवेक लगाएर मतदान गर्नपर्छ। ताकि उनीहरूको एक-एकवटा भोटले पहाडमा विकास ल्याउऩ सकोस्।

 

फोटोः विनय तामाङ।

 

Related Posts

leave a comment

Create Account



Log In Your Account