आरबी राईलाई बनायो क्रामाकपाले उम्मेद्वार

आरबी राईलाई बनायो क्रामाकपाले उम्मेद्वार

मोहन लामा

दार्जीलिङ, 10 मार्च।

क्रामाकपा (क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टी)-ले आज पूर्व सांसद आरबी राईलाई यसपालीको लोकसभा चुनाउको उम्मेद्वार घोषणा गर्यो। आज यस विषयमाथि छलफल गर्नको लागि क्रामाकपा केन्द्रिय महापरिषदको सभा भएको थियो, जसमा महापरिषदका सम्पूर्ण सदस्यहरू उपस्थित भएका थिए। यसै सभाले यसपालीको लोकसभा चुनाउमा पार्टी अध्यक्ष राईलाई उम्मेद्वार बनाउने निर्णय लिएको हो।

यस बैठकपछि पत्रकारहरूसित कुराकानी गर्दै पार्टी प्रवक्ता गोविन्द छेत्रीले भने-क्रामाकपाले यसपालीको लोकसभा चुनाउमा दार्जीलिङ लोकसभा आसनबाट साझा उम्मेद्वार होस् भन्ने चाहेको थियो र छ। यसको लागि पहाडका विभिन्न पार्टीहरूसित कैयौं चरणका बैठकहरू भइसके, तरै पनि अहिलेसम्म साझा उम्मेेद्वारको लागि सहमति नभएको कारण नै हामीले पार्टी अध्यक्ष आरबी राईलाई उम्मेद्वार बनाउने निर्णय लिएका हौं। तरै पनि उऩले साझा उम्मेद्वारको लागि पार्टीको पहल अझै जारी रहेको बताउँदै छेत्रीले भने-चुनाउको लागि मनोनयन पत्र फिर्ता लिने अन्तिम दिनसम्म पनि यदि कुनै दक्ष, जातिप्रति इमान्दार, जातिको मुद्दालाई अघि बढाउने अनि गणतान्त्रिक परिवेश फर्काउऩको लागि संघर्ष गर्ने उम्मेद्वार अघि आउँछ भने क्रामाकपा उनलाई नै समर्थन जनाउन पनि तयार छ।

लोकसभा चुनाउमा पार्टीको मूल मुद्दा के हुन्छ? के गोर्खाल्यान्ड नै एकमात्र मुद्दा हुन्छ? भन्ने प्रश्‍नको उत्तरमा पार्टी प्रवक्ता गोविन्द छेत्रीले भने-गोर्खा जातिको परिचय बोक्नसक्ने संवैधानिक मान्यताप्राप्त व्यवस्था नै पार्टीको मूल मुद्दा हुनेछ। यसरी नै गणतन्त्र पुनर्बहाल पनि दोस्रो मूल मुद्दा हुने उनले जनाए। उनले भने-पार्टीले भाजपा र तृणमूल कंग्रेसबाहेक सबै पार्टीसित कुराकानी जारी राख्नेछ, यसैले आज पनि गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले बाघडुग्रामा आयोजना गरेको सर्वदलीय बैठकमा पार्टीका प्रतिनिधिहरूले भाग लिएका छन्। तर पार्टीले तृणमूल कंग्रेस र भाजपासित कुरा पनि गर्नेछैन अनि यी दुइवटा पार्टीलाई क्रामाकपाको दैलोमा छिर्न पनि दिनेछैन। विगतमा यी दुइ पार्टीले देखाएको नीति र गरेको करतुतलाई हेरेर नै क्रामाकपाले यी दुइ पार्टीसित कुरा पनि नगर्ने निर्णय लिएको हो। वर्ष 2017-को गोर्खाल्यान्ड आन्दोलनकालमा दार्जीलिङ पहाडका गोर्खा जातिमाथि भएको अन्याय र अत्याचारको समय एक शब्द नबोल्ने भारतीय जनता पार्टी अनि यस जातिमाथि अत्याचार गर्ने तृणमूल कंग्रेसलाई पहाडका जनताले कुनै पनि स्थितिमा समर्थन जनाउने  छैनन्, उनले भने।

स्मरण गराइन्छ, क्रामाकपा अध्यक्ष 71 वर्षे आरबी राई सन् 1989-मा राज्यसभा सांसद बनेका थिए भने 1990-देखि 96-सम्म पनि उनी दोस्रोपल्ट राज्यसभा सांसद मनोनित भएका थिए। राज्यसभा सांसदको कार्यकाल पूर्ण हुनसाथ उनी फेरि लोकसभाको लागि निर्वाचित बनेका थिए। तर यसैबीच आरबी राईले अलग राज्य गोर्खाल्यान्डको माग गर्दै क्रामाकपाको गठन गरेपछि 1 वर्षपछि अर्थात 1997-मा लोकसभा सांसद पदबाट पनि राजीनामा दिएका थिए। राज्यसभा र लोकसभा सांसदका रूपमा असल अनुभवी क्रामाकपा अध्यक्ष राईलाई पुनः पार्टीले यसपालीको चुनाउमा पनि उम्मेद्वार घोषणा गरेपछि पहाडको राजनैतिक माहौल एकाएक तात्तिन थालेको छ। आरबी राई सांसद रहेको समय नै नेपाली भाषाले पनि संवैधानिक मान्यता पाएको थियो। जसले आज पत्रकारहरूसित कुराकानी गर्दै भने-यदि संसदमा राम्रोसित खेल्न सके अनि सांसदहरूलाआ विश्‍वासमा ल्याउऩ सके, कठीनभन्दा कठीन समस्या पनि समाधान हुन्छ, यो नेपाली भाषाले मान्यता पाएको समयले नै स्पष्ट पारेको छ।

फोटोः उम्मेद्वार घोषणा गरिएपछि आरबी राई।

Related Posts

leave a comment

Create Account



Log In Your Account