डस्टबीन बाँडेर साई बाबाको जन्म जयन्ती पालन

डस्टबीन बाँडेर साई बाबाको जन्म जयन्ती पालन

प्रतिविम्ब न्यूज

दार्जीलिङ, 23 नोभेम्बर।

अप्पर कलेजभेल्ली निवासी चम्पा राई र उनका भाइ प्रताप राईले 110 वटा डस्टबीन वितरण गरेर श्री सत्य साई बाबाको 93औं जन्म जयन्ती पालन गरे। उनीहरूले 110 वटा डस्टबीन आफ्नै खर्चमा किनेर जनतामा वितरण गरेका छन्, ताकि यी डस्टबीनहरू रङ्बुलदेखि धोत्रे-कलेजभेल्ली चियाबगानसम्म लगाउन सकियोस्। कलेजभेल्ली चियाबगान हाल अघोषितरूपमा बन्द अवस्थामा छ। चम्पाका सम्पूर्ण परिवारका सदस्यहरू यसै चियाबगानमा बसे पनि उनी र उनका भाइ प्रताप रंगबुलमा दोकान चलाएर बस्ने गरेका छन्। यी दुवै दिदी-भाइ समाज सेवा गर्न अलिकति पनि पछि पर्दैनन्, दुःखीहरूलाई सहयोग पुर्याउन सधैं अघि आउने यी दिदी-भाइले आज श्री सत्य साई बाबाको जन्म जयन्तीको अवसर पारेर गाउँलेहरूमा डस्टबीन वितरण गरेका हुन्।

यसको जानकारी दिंदै दिनेश साम्पाङले यी दिदी-भाइको कार्यको मुग्धकण्ठले सराहना गरे अनि उनीहरूको यस्तै सेवामूलक कार्यको कारण रंगबुलदेखि ओह्रालो धोत्रे-कलेजभेल्ली जाने सडक मार्ग पूर्णरूपले सफा भएको पनि बताए। साई भक्त राईले देशमा स्वच्छ भारत अभियान शुरू भएको केही वर्ष मात्रै भयो, तर हामीले सन् 2008-देखि नै गाउँ-घरलाई सफा राख्न वर्षेनी श्री सत्य बाबाको जन्म जयन्तीको छेक पारेर डस्टबीनहरू वितरण गर्दै आइरहेका छौं, जसलाई यसपाली पनि जारी राखिएको हो। उनले भनिन्-दार्जीलिङ पहाडमा पनि ग्रीन दार्जीलिङ-क्लीन दार्जीलिङ भनेको निकै भयो, तर यो केवल भनाईमा मात्रै सीमित छ। यसलाई कार्यरूपमा ल्याएको जस्तो लाग्दैन। तर हामीले सन् 2008-देखि आफ्नो घर-आँगन सफा राखे, गाउँ, शहर सफा हुनेछ र गाउँ शहर सफा भए ठूलै ठाउँ सफा हुँदै जाने विचार राखेर यस्तो अभियान चलाएका हौं। सेवा गर्ने चाहना पनि भगवानले दिएको हुनपर्छ जस्तो लाग्छ। दार्जीलिङ पहाडमा धेरै सम्पन्न व्यक्ति विशेष, परिवारहरू छन्, तर उनीहरूसित भगवानको लागि भक्ति गर्ने समय नै छैन। यसैले भगवानको भक्ति गर्ने समय हामीले पाएको जस्तो लाग्छ र वर्षेनी साई बाबाको जन्म जयन्तीको अवसरमा सफाईलाई नै ध्यानमा राखेर कार्य गरिरहेका छौं।

फोटोः डस्टबीन लगेर गइरहेका गाउँलेहरू।

Related Posts

leave a comment

Create Account



Log In Your Account