कवि मिलनको ‘गाउँ र शहर’-को चौतारीमा बिसाउँदा

कवि मिलनको ‘गाउँ र शहर’-को चौतारीमा बिसाउँदा

कवि मिलनको ‘गाउँ र शहर’-को चौतारीमा बिसाउँदा

  • सतीश रसाइली, दार्जीलिङ

 

सब समय असम्पूर्णताको बोध नभए लेख्न सकिँदैन कविता…

– कवि सुनील गंगोपाध्याय

हेत्! मिलन कवि हो नि हौ। भावको जण्डा कवि। पुनपर्ठनमा कविताहरूले केही भन न, तिम्रो मनले खिचेको तस्वीर भने। आफैले, कहिले पनि नलेखेको शब्दचित्र देखाउनमा दर्पणको फ्रेममा छ – कवि मिलनको ‘गाउँ र शहर’ समालोचनाको मोटो ग्लासको चश्माभित्रबाट नदेखेर मनको मेमोरीबाट साउती गरेको, चियो गरेको मात्र। यी शहरमा, जन्मेर, हुर्केर, बूढ़ी हुँदै गएको तीतोमीठो कविताको स्वादको भोको, पाठकको –

गाउँको कवितामा स्वच्छताको उच्छ्वास र लमतन्न तन्किएको निर्जीव कालो अलकत्रे बाटोको सम्मोहन गर्ने कालो जादूमा पग्लिरहेको शहर। यहाँ उहिले, सानुसानु घरमा अग्लाअग्ला व्यक्ति विशेष (गुणले) उदाउँथे। अहिले अग्लाअग्ला बिल्डिङमा पुड़्कापुड़्की मान्छे सलबलाउँछन्।

कवि मिलनले कविता खुबै सीपले खिपेका छन् फूलबुट्टा खोज्नुपर्छ कवितामा कविले कुँदेका। कविताको ताजमहलमा, मार्बलको आँसुमा बगेको आयते (कुरान पवित्र ग्रन्थको)। यहाँ कवि मिलनको ‘गाउँ र शहर’-मा कविताको निनाद।

सन् 2010 मा नै प्रकाशित भएको कविता सङ्ग्रहले किन प्रसिद्धि र सम्मान, त्यसबेला नै पाएन। म छक्कै पर्छु। हाम्रो उदासीनता देखेर, संवेदनाको, हाम्रो दिवालीयापन देखेर। कि त अरू नै केही लबीको करिडरमा मिलन हिँड़ेन, ठीक पाऱ्यो कवि मिलन चेपारोमा नहिँड़ेर (नघिस्रेर)। हिँड़्न पनि हुँदैन। स्वाभिमान बेचेको कवि त कवि नै होइन। मुखमा चिप्ले घीउ धसेर कविता कहाँ मुखरित हुन्छ र होइन! धत्, छोड़िदिऊँ, यस्ता तानातान, हानाहानको, बगमफुसे गफ। साहित्यमा स्वच्छता हुँदामात्रै त्यस कृतिले अमरत्व पाउँदोरहेछ। हामी पढ़्छौँ। हामी सुन्छौँ। (बब डिलन सातपल्टसम्म नोबेल पुरस्कारका निम्ति मनोनीत भएको थाहा छ हामीलाई एलेन गिन्सवर्ग पनि डिलन भन्दा हुरूक्कै हुन्थे।)

हुन त, ‘कुरामा कुरा’-मा नै भाइ निमा निची शेर्पाले कवितालाई कविताकै नाङ्लोमा मज्जाले निफन्नुभएको छ। यहाँ उनलाई नै उद्धृत गर्दै-

(क) ‘‘…सच्चा पाठकका निम्ति कवितामा सहृदय प्रवेश नै सबै थोक हो। कविताको सच्चा पाठकले अन्तरात्माबाट कविता आस्वादन गर्दछ। कविताको, रसास्वादनबाट तृप्त बन्छ।’’

(ख) ‘‘गधा मल्दैमा गाई हुँदैन। अतिवादीहरूको आक्षेपले गाई अत्तालिँदैन; दूध दिन छोड़्दैन। अतिवादीहरूको नीलोतुथोले साहित्य अथवा कविताको संवेदनाजनित-विश्वासजनित अनन्त जरालाई रत्तीभर पनि लट्याउन सक्तैन।

(ग) ‘‘कवि मिलन बान्तवा हाम्रा संस्कृति हुन्।’’

(घ) ‘‘उनी कवितामा सदविचार र सदाचार पोख्छन्। चिन्मयता प्रदान गर्छन्।’’

(ङ) ‘‘वस्तुतः बान्तवा मुटुका तरल कवि हुन् र धेरै मुटुले र थोरै बुद्धिले विचार गर्ने कवि।’’

‘आभार ज्ञापन’ गर्दै कवि मिलनले भनेका छन्- अति मननयोग्य, चिन्तनयोग्य तथा समकालीन कविता लेखन प्रवृत्तिलाई सही दिशानिर्देश गर्ने किसिमको आलोचनात्मक भूमिका लेखनका निम्ति भाइ निमा निची शेर्पाप्रति।’’

यहाँनिर यसो भन्नुपर्छ होला जस्तो मलाई लाग्यो- कवि स्वयम् कविताको गर्भमा चोखो शब्दका वीर्यहरू ग्रहण गर्ने, उनीमात्रै एकान्तमा भएकोले, उनी सन्तुष्ट भएका छन्। निमा निचीको दक्ष पारखी नजरमा।

म त यहाँ केवल, मनको मझेरीमा मन्दमन्द बतासको सहृदयी आनन्द लिन हृदयसँगको यी कविताको कथोपकथनमात्रै हो। मसँग पावरफुल चश्मा छैन- आन्द्राभुँड़ी देख्ने/खुट्याउने। बस्, केवल, लहलह कविताको बतास छ-

‘गाउँ र शहर – ‘12’ पछि ‘13’ अनि  गाउँ र शहर – उपसंहार’ अनि यसै सङ्ग्रहमा थप 17 वटा भिन्नाभिन्नै शीर्षकमा कविताहरू छन् अनि मोठमा 30 वटा कविताहरू सङ्कलन भएको ‘गाउँ र शहर’, गतिलो, गजबको, गरिमापूर्ण कविताहरूको शृङ्खलाबद्ध कृति हो।

केही कविताका पङ्क्तिहरूको चौतारीमा बिसाउँदै, ‘गाउँ’-को उकाली-ओह्रालीहरूमा मन खुइय्य गर्छौं। र ‘शहर’-मा क्याभेन्टर्समा पल्युटेड हल्लाहरूमा बसेर, सम्झेर कविसँग कफी पिऊँ। कविता चुस्की लिँदै (तेह्र थरीका कविताहरूको कविताभित्र मात्र, यहाँ अहिलेलाई, अरूलाई पछि हेरौँला)-

गाउँ र शहर – 1

…शहरले गाउँ बेचेको कथा सुनेर दिक्कै बन्छ

अनि सङ्कल्प गर्छ शहरलाई बेच्न

शहरमा आफैलाई बेचेर निर्धक्क सुत्छ गाउँ।

 

गाउँ र शहर – 2

…अन्न उमार्दैन गाउँ अचेल

सपनाहरूको बिस्कुन सुकाएर

बरू खेतमा मस्त निदाइरहन्छ।

 

गाउँ र शहर – 3

यति धेर कविता लेखिसकेर पनि

अझ अधूरै छ तिम्रो गाउँ

सुनाउँछे श्रीमती।

 

गाउँ र शहर – 6

रोग भनेको त्यस्तै त हो नि हजुर

…तर फरक यति छ

गाउँको मधौरूलाई वाण हान्दा

शहरको रोगीलाई हार्ट अटैक हुन्छ

शहरको रोगीलाई ब्लड प्रेसर हुँदा

गाउँको मधौरूलाई सिंहे लाग्छ

 

गाउँमा मधौरूको भलाकुसारीमा

सोह्रै आना मनहरू झुरूम्म थुप्रिन्छन्

रोगीलाई अनुहार देखाउन

शहर भने

मनलाई एकातिर थन्काएर

केवल अनुहारहरू थुप्रिन्छन्

गाउँ र शहर – 8

हाड़ घोटेर

उसको शरीरमा हाड़ भर्ने

रगत सुकाएर

उसको रक्तनलीमा रगत भर्ने

पसिना बहाएर

उसको जीवन सञ्चार गर्ने

उसकी आमा हुन्।

गाउँले प्रायः जसो आमालाई

यसरी चिन्ने गरेको छ।

 

गाउँ र शहर – 9

एकाबिहानै

घामले झ्वाम्म हाम फाल्छ

गाउँको स्वच्छ पोखरीमा

अनि दिनभरि नुहाइबस्छ

पोखरीमा निर्बिघ्न चलखेल गरिरहन्छ।

…………….

शहरको त्यो कत्ले हिलोमा

घाम पटक्क बस्न रूचाउँदैन।

 

गाउँ र शहर – 10

मनको सालनाल गाड़िदिएपछि पुर्खाले

कसको के लाग्छ र?

यसैले गाउँले चियाको बुट्टालाई

आफ्नो साक्खे भाइलाई जतिकै माया गर्छ

अनि रगत र पसिनाले सिँचिसकेपछि

सिङ्गै शरीरले पनि सिँच्छ।

 

गाउँ र शहर – 11

गाउँमा बिहे हुन्छ

बिहेमा खसी हुन्छ

खसीमा बिहेघरको

बेग्लै रवाफ र धाक हुन्छ

शहरमा बिहे हुन्छ

बिहेमा बुफे सेट हुन्छ

बुफे सेटको लश्करमा बिहेघरको

अग्लो ढोंग र घमण्ड हुन्छ।

 

गाउँ र शहर – 12

 

…कस्तो व्यस्त रहनुपर्छ शहरमा

कति ठूलाठूला कामहरू निप्ट्याउनुपर्छ

कहाँ समय पाउनु

बाबुको जाबो लाशलाई काँध हाल्न

 

अनि उसको सपनामा

बाबुको ठेला उठेको हात

अनि कैँड़ा लागेको खुट्टा

एकतमासले छटपटाइरहन्छ।

 

गाउँ र शहर – उपसंहार

…गाउँको कुमारीत्वलाई

बचाउन सकिन्न कसै गरी

नपुसंक कविताका बीजहरू छरेर।

 

उसको मनोरम दृश्य

उसको बास्नादार महक

उसको कोमल स्पर्श

उसको मायालु ममता

शहर पसेपछि

गाउँ बुख्याँचा भएको छ।

मसँग हाम्रै स्वादको मिठासमा रम्ने विवेक र मुटु छ। त्यही स्वादमा चाखेका तृप्तिहरू केही यहाँ छन्।

साहित्यमा समालोचना ‘तेस्रो नेत्र’ शक्तिको ‘ज्ञान-नेत्र’, नितान्त अनिवार्य तत्त्व हो। तर एक आँखे हुनु भएन। हामी डराउँछौँ, एक आँखे त भूत भन्छ। एकातिर भस्मासुरजस्तो लोभी चरित्र र अर्कोतिर नारदजस्तो पोलौटे एकतारा बजाउँदै, यता पनि ठिक्क उता पनि ठिक्क पार्ने ज्ञान भएका हुने जस्तोले पनि स्रष्टा र साहित्य दुवैलाई बिगार्छ। समालोचनाको नाममा पश्चिमतिर फर्केको-फर्क्यै गरेर, घाँटी बङ्ग्याउनेहरूले पूर्व दिशा छैन जतिकै गर्छन्। पश्चिमको कसीमा घोटिएर पूर्वको घामले कञ्चनजङ्घालाई चुमेको स्वाद लेख्नु ठूलो अन्याय हुन्छ सर्जकलाई। म यहाँनिर अलिक फरक परेँ, देखिएँ। अहिलेको हाम्रो चल्ती-चलनसँग नमिल्ने भएँ। रिसाउनीमा माफै होला। म फेरि, अरूको गिदी चाटेर परीक्षामा अब्बल अङ्क ल्याउने साहित्यको विद्यार्थी नभएर आफ्नै ग्रहण र स्वादले मस्त हुन, रम्न-गम्न मन छ, अङ्कको बेवास्ता छ, किनभने, म परीक्षार्थी होइन पो। म त, केवल सहृदयी पाठकमात्र भएँ। यसैले ढुक्क पनि छु। शायद, अङ्कको पारामिटरमा साहित्य नाप्नुहुँदैन होला नि! नभए त सृजना त, फर्मुला पो हुन्छ त, होइन र! सहृदयी साथी!

सबैले एकै प्रकारले बुझ्नुपर्छ र कविता! भिन्नाभिन्नै संस्कार, परिवार, परिवेश, हुर्काईबढ़ाई इत्यादि हुनबाट निर्मित एउटा-एउटा, बेग्लाबेग्लै पाठक (मान्छे)। त्यसैले, स्वाद पनि मिल्दैन, हातको औँलाको रेखा पनि मिल्दैन। अनि कविताको पठनचाहिँ किन मिल्नु पऱ्यो नि। होइन! सिद्धान्तमा मात्र नझुण्ड्याएर हिँड़्न दिऊँ स्वतन्त्र पाठकलाई पाठमा। गिदी-मुटु नखुम्च्याऊँ, उसले अर्कै पढ़्यो (बुझ्यो) भनेर। यहाँसम्म आइपुग्दा साहित्यले, यति त, लिबर्टी दिएकै छ। यसैले यति भनेँ। पाठकको घाँटी निमोठ्न साहित्यिक ‘क्राइम’ हो।

खासमा, मेरो भित्री ख्वाइस चैँ नि, ‘गाउँ र शहर’, कृति र कवि मिलनलाई जनसाधारण पाठकमा मिलनको कविता शेयर गर्नेमात्रै हो। उनीहरूको स्वादमा (मेरो) जुठो नपार्ने। चोखो स्वाद, चाखोस् न स्वाद। पाठकको जिब्रो (विवेक र मुटु)-ले होइन। कविताको स्वाद कम्ता मीठो हुन्छ भनेर हगि। तबमात्र, आशा राखौँ। हाम्रो साहित्यका पाठक जनसाधारण पनि हुन्छन्। केवल, साहित्यिक बन्धुबान्धवहरूमात्र, एक मुट्ठी होइन। हाम्रो पुस्तक बिक्री हुन्छ। सर्जक हौसिन्छ। साहित्य समृद्ध हुन्छ।

पाठकको जय होस्।

अहो! झण्डै बिर्सिएछु – यति मीठो संवाद – ‘‘बनारसबाट डा॰ सञ्जय बान्तवाको फोनमार्फतको परामर्श, यस सङ्ग्रहमा ‘गाउँ र शहर – उपसंहार’ थप।’’

काशीधामबाट (ज्योतिर्लिङ्ग – शिवनगरीबाट) सञ्जयको उवाच अति सार्थक भएको र हामी पाठकले थप अझ एउटा कविता पढ़्न पायौँ। ‘गाउँ र शहर’-का ओजपूर्ण कविताहरूको बिट मार्ने। सत्कर्म गर्दै जाँदा भगवानले पनि कुनै न कुनै माध्यमद्वारा (रूपमा) मार्गदर्शन र उज्यालो ज्योति प्रदान गरिरहेका हुन्छन्। झन्, यहाँ त, काशीबाट स्वयम् सञ्जय उवाच। अहा, स्वाद आयो।

इति,

भइसकेपछि पनि, मिठास केही चाखौँ-

कवि मिलन गाउँलाई धेरै माया गर्ने कवि। कवितामा शहरलाई कड़्के नजरले हेरेर, छड़्के हानेका छन्। (तर अब त कवि स्वयम् पनि शहर पसेको धेरै भयो।) शहरमा साथै मिक्स मल्टी कल्चरको रङ्गले रङ्ग साऱ्यो, त्यस गाउँको चोखो मनको स्पन्दन सिम्प्लिसिटी धमिलियो। तर शहरले गाउँ कहिल्यै नपाएको चाहिँ होइन। बजार-घर, बन-जङ्गल, धारा-पधेरा, पाखा-भित्ता आदि क्रमैले बड़ी-बोजूले गाउँजस्तै शहर पारेर सम्हालेर राखेका थिए। सबभन्दा शुद्धचाहिँ मन थियो। नभाँचिएको मन। पल्युटेड नभएको मन। हाम्रो पालासम्म आइपुग्दासम्म पनि चर्केकै भए तापनि, त्यो पनि थियो। बिहेमा खसी काटेर, झोलट्याङ्गै झोलमा, मगमग बास्ना आउने गाउँको खसी शहरको बिहेमा टपरामा चुहाउँदै भतेर खाएकै हो। गुन्द्री बजारमा, ढुङ्ग्रीमुन्द्री लगाएर, कटुवा बेरेर तानेका बज्यैहरू देखेकै हो। बड़ीले च्याप्टे सुन, शिरबन्दी, नौगेड़ी, मारवाड़ी, कली लगाएको देखेकै हो।  शहरमा हाम्रै बोजूहरूको बजार (दोकान) छपछपती ‘‘नेपाली जातीय जीवन गाउँबस्तीमा बस्छ बजारतिर कैलेकैले आउँदा तर फर्किहाल्छ।’’ (आर॰ बी॰ राई)। त्यो कैलेकैले गाउँ देखेकै हौँ, हामीले पनि यसरी शहर नभइसकेको, गाउँजस्तै शहरमा।

‘‘दशैँको टीकालाई सोहोमोहोमा नेपाली जातित्व नै भन्दा हुन्छ।’’ (शिवकुमार राईको ‘टिका’ कथामा यसै भनेका छन् आई॰ बी॰ सरज्यूले।)

थुन्चेमा दशैँको सिसार बोकेर आपाआमाले माथि घर, जलपहाड़मा बाजे-बोजूकोमा छजना भाइबहिनीलाई लावालश्कर लगाएर लगेकै हो। देउसीभैलोमा, जम्मै पहाड़ै, झिलिमिली नाचेकै हो।

अहिले पो, के भयो! भयो!

कुन पापीले बिख घोल्यो नेपाली मनमा। सिङ्गो नेपाली तनमा। शहरहरू नै नयाँ शहरसँग बिरानो भयो। शहरै नचिन्ने भएर पलायन भयो।

Related Posts

leave a comment

Create Account



Log In Your Account