अनित थापाको दावी : विमलको एनआरसी बयान विनयको बयानको दबाउ

अनित थापाको दावी : विमलको एनआरसी बयान विनयको बयानको दबाउ

प्रतिविम्ब न्यूज

दार्जीलिङ 4 अगस्त।

एनआरसीको मुद्दामा विमल गुरूङले सार्वजनिक गरेको मुद्दालाई गोजमुमो महासचिव अनित थापाले विनय तामाङको बयानको दबाउको प्रतिफल दावी गरेका छन्। एनआरसी लागु गर्ने भाजपामाथि केही नभनेर उल्टै दार्जीलिङ पहाड़मा बंगलादेशी अनुप्रवेशकारी मुसलमानहरूलाई शरण दिन जमीनको चाँजो मिलाइरहेको विमल गुरूङको दावीलाई कीर्ते अनि अफवाह रहेको दावी गर्दै अनित थापाले यसो भनेका हुन्।

अनित थापाले आज एक प्रेस विज्ञप्ति जारी गरी यसो भनेका छन्- आसामबाट निकालिएका बंगलादेशी मुसलमानहरूलाई शरण दिनको निम्ति राज्य सरकारले हाम्रो पहाड़को जमीनलाई सुटुक्कै प्रयोग गर्ने चाँजो मिलाइरहेका छन् जसले राष्ट्रिय सुरक्षामाथि ठूलो खतरा उत्पन्न हुनेछ भन्ने विमल गुरूङको वक्तव्य पूर्णरूपले झूटो अनि तर्कहीन रहेको छ। विमल गुरूङ जो गत एक वर्षदेखि दार्जीलङ पहाड़क्षेत्रमा रहेका छैनन्, पहाड़वासीलाई ठूलो संकट अनि हिँसात्मक गतिविधिमा फसाइ राखेर जो मान्छे सुरक्षा खोज्दै गत एक वर्षदेखि लापत्ता अवस्थामा रहेका छन् त्यस्तो व्यक्तिलाई अवैध घुसपैठीहरूलाई दार्जीलिङ पहाड़को जमीनमा शरण दिने सरकारले योजना बनाइरहेको आरोप लगाउने कुनै अधिकार रहेको छैन। जुन व्यक्ति स्वयँले पहाड़मा अगणतान्त्रिक क्रियाकलापहरू गरेर कानूनी सजायदेखि बाँच्नलाई भगौड़े अवस्थामा रहेका छन् त्यो मान्छेले राष्ट्रिय सुरक्षाको कुरा गर्नु अशोभनीय अनि हास्याँस्पद ठहर्दछ।उनको यदि कुनै प्रमाण छ भने जनतासामु सार्वजनिक गरून् भन्ने म चुनौती पनि दिँदछु।

गुरूङले पछिल्लो 10 वर्षको अवधिमा विमल गुरूङले पहाड़का सोझो- सीधा मानिसहरूलाई भावनात्मक रूपमा ब्लेकमेलमात्रै गरेको पनि थापाले आरोप लगाएका छन् भने यसपल्ट पनि उनी पहाड़वासीहरूमा झूटो अफवाह फैलाएर पहाड़वासीलाई साम्प्रदायिक अनि धार्मिकरूपमा विभाजन गर्न चाहिरहेको पनि उनको आरोप छ।  यसभन्दा अघि पनि पहाड़मा रोहिङ्ग्याहरूलाई शरण दिइएको अफवाह फैलाएर पहाड़वासीलाई साम्प्रदायिक रूपमा विभाजित गरी राजनैतिक स्वार्थ लुट्ने योजना बनाएका थिए जो सरासर झूटो रहेको प्रमाणित भएको थियो। यसपल्ट फेरि बंगलादेशी घुसपैठीहरूको अफवाह फैलाएर त्यसै गर्न चाहिरहेका छन्, विज्ञप्तिमा थापाले भनेका छन्।विमल गुरूङले दार्जीलिङ पहाड़ छोड़ेको एक वर्षपछि भर्खरै पहाड़वासीले पहाड़मा शान्ति अनि कानून व्यवस्था फर्किआएको अनुभव गरिरहेको पनि उले दावी गरेका छन्।

विमल गुरूङको एनआरसीको सन्दर्भमा हालैमा दिएको बयान आसामको एनआरसी मुद्दामा गोर्खाहरूको पक्षमा विनय तामाङको बयानको दबाउको कारण उनले बयान तोड़मोड़ गरेर उक्त मुद्दादेखि पन्सिनु खोजेको मात्रै हो भन्ने हामीलाई विश्वास छ।गोजमुमो अध्यक्ष विनय तामाङले यस सन्दर्भमा तीन दिनअघि नै आसाम सरकारलाई एनआरसीबाट हटाइएका असमेली गोर्खाहरूको नाम पुनः गाभिनुपर्ने अपील गर्दै प्रेसमा खुल्लारूपमा बयान दिइसकेका छन्।यसको तीन दिनपछि विमल गुरूङले यस प्रकारको बयान दिनु उनीमाथि रहिआएको विनय तामाङको बयानको दबाउ नै हो। विमल गुरूङ गोर्खाहरूप्रति उत्तिकै गम्भीर छन् भने असमेली गोर्खाहरूलाई एनआरसीमा गाभ्ने विषयमा पहल गरून्, दार्जीलिङ पहाड़को भूभागको सुरक्षा कसरी गर्नुपर्ने हो त्यसको जिम्मेवारी हाम्रो हो। पहाड़वासीलाई हिँसात्मक आगोमा झोसेर आफू सुरक्षित कानूनदेखि भागेका भगौड़ेहरूले पहाड़को चिन्ता गर्नु पर्दैन। पहाड़को चिन्ता गर्ने थुप्रै बुद्धिजीवीहरू छन्, माटो प्रेमी जनताहरू छन्। विमल गुरूङले 105 दिनसम्म डड़ेलो सल्काएको स्थितिबाट पहाड़लाई सुरक्षित बनाउने हामी हौं। यसर्थ पहाड़को माटोलाई कसरी सुरक्षित राख्नुपर्छ त्यो हिँसावादी अपराधीहरूले हामीलाई सिकाइरहनु पर्दैन, थापाले विज्ञप्तिमा भनेका छन्।

Related Posts

leave a comment

Create Account



Log In Your Account