मिनिमम् वेजेस एक्टको मागमा बनियो जोइन्ट फोरम

मिनिमम् वेजेस एक्टको मागमा बनियो जोइन्ट फोरम

गोजमुमो, क्रामाकपा, माकपा, कंग्रेस, जापका श्रमिक संगठनहरूले संयुक्त आन्दोलन गर्ने

प्रतिविम्ब न्यूज

दार्जीलिङ, 19 जून।

तृणमूल कंग्रेसबाहेक उत्तर बंगालका अन्य सबै राजनैतिक दलका श्रमिक संगठनहरू चियाकमानहरूमा मिनिमम् वेजेस एक्ट लागु गर्नुपर्ने मागमा एकजुट भएका छन् भने आगामी 24 जूनदेखि संयुक्त आन्दोलन शुरू गर्ने समेत घोषणा गरेका छन्।दार्जीलिङ गोर्खा दुःख निवारक सम्मेलन भवनमा आज गोजमुमो, क्रामाकपा, माकपा, कंग्रेस, जापलगायत अन्य पार्टीका श्रमिक संगठनहरूले एक सभा गरी जोइण्ट फोरमको गठन गरेका छन्।  

आगामी 24 जूनको दिन जोइन्ट फोरमले मिरिकमा एक संयुक्त जनसभा गरेर आन्दोलनको सूत्रपात गर्नेछन् भने 27 र 28 जूनको दिन यसै मूल माग लिएर यी श्रमिक संगठनहरूले दार्जीलिङका जिल्लापाल, पुलिस अधीक्षक, जीटीए अध्यक्ष आदिलाई ज्ञापन पनि दिने भएका छन्।

जसमा चियाश्रमिकहरूका लागि न्यूनत्तम रोजी ऐन लागू हुनैपर्ने विषयमाथि जोड दिइएको थियो। यसैको जानकारी गराउँदै माकपाको श्रमिक संगठन दार्जीलिङ जिल्ला चियाकमान मजदूर युनियनका नेता वा जोइण्ट फोरमका संयोजक जियाउल आलमले भने-आज दार्जीलिङमा चियाश्रमिकहरूको हितमा एक ऐतिहासिक सभा भयो, जसमा पहाड़का सम्पूर्ण राजनैतिक पार्टीका श्रमिक संगठनहरूका नेतृत्ववर्ग उपस्थित भएका थिए। जसमा विशेष न्यूनत्तम रोजी ऐन लागू गर्ने मागमा सरकारमाथि चाप बनाउन आगामी 24 जूनको दिन मिरिकमा एक जनसभा गर्ने चाँजो मिलाइएको छ भने 25 जून सबै चियाबगानमा शहीद दिवस पालन गरिनेछ।

25 जून 1955-मा चियाश्रमिकहरूका हितमानै आन्दोलन गर्दा पुलिसले श्रमिकहरूमाथि गोली चलाएको थियो अनि त्यसमा परेर एकजना गर्भवती महिलासँगै 14 वर्षे बालकको पनि विभत्स मृत्यु भएको थियो। त्यसैको स्मरणमा जोइण्ट फोरमले 25 जूनको दिन सबै चियाबगानमा शहीद दिवस पालन गर्ने निर्णय लिएको छ। यसबाहेक 2 देखि 4 जुलाईमा फोरमले प्रत्येक चियाबगानमा विक्षोभ प्रदर्शन गर्ने भएको छ। जसमा न्यूनत्तम रोजी ऐन लागू गर्ने मागमाथिनै जोड दिइनेछ। आलमले भने-हाल चियाबगानका श्रमिकहरूको अन्तरिम रोजी 17 रूपियाँको दरले वृद्धि गरेर न्यूनत्तम रोजी ऐनलाई ढिलाई गर्ने प्रयास गरिरहेको छ, यसलाई जोइण्ट फोरमले स्वीकार गर्दैन।चियाबगानका मालिकहरूले रोजीमा अन्तरिम वृद्धि गरेर श्रमिकहरूलाई ठग्ने मात्रै काम गरिरहेको छ। यसको साटो न्यूनत्तम रोजी ऐननै लागू गरेर चियाश्रमिकहरूलाई सही मूल्य दिनुपर्छ।

यसका साथै फोरमले चियाबगानका स्टाफ, सब्-स्टाफहरूको वेतन वृद्धिको लागि पनि सरकारसित भेट गर्ने कार्यक्रम तयर गरिरहेको पनि आलमले बताए। आजको यस सभामा गोजमुमोको श्रमिक संगठन दार्जीलिङ तराई डुवर्स प्लान्टेशन लेबर युनियनबाट अध्यक्षा करूणा गुरूङ. जापको श्रमिक एकाईबाट अमर लामा, क्रामाकपाबाट केबी सुब्बा, माकपाबाट पूर्व सांसद समन पाठक, कंग्रेसबाट पूर्व सांसद दावा नर्बुला आदिको विशेष उपस्थिति थियो। नर्बुलाले आगामी दिनमा यी सबै श्रमिक संगठनहरूले एकवद्ध भएर श्रमिकवर्गको हितमा लडाई गर्ने योजना बनाएको पनि बताए।

Related Posts

leave a comment

Create Account



Log In Your Account