आफ्नो राजनैतिक अस्तित्व सकिने बुझेर विपक्षीहरूले भ्रम फैलाइरहेका छन्- छिरीङ दाहाल।

आफ्नो राजनैतिक अस्तित्व सकिने बुझेर विपक्षीहरूले भ्रम फैलाइरहेका छन्- छिरीङ दाहाल।
  • गोजमुमो पर्जा-पट्टा कोअर्डिनेशन कमिटी गठन।

  • सबै जमीनको पट्टा दिलाउने गोजमुमोको दावी।

  • पर्जापट्टाको मुद्दामा राजनैतिक पक्षपात नगरिने।

प्रतिविम्ब न्यूज

दार्जीलिङ 18 जून।

पर्जा-पट्टाको मुद्दालाई अघि बड़ाउन आज गोर्खा जनमुक्ति मोर्चाले जीटीएस्तरीय पर्जापट्टा को-अर्डिनेशन कमिटी गठन गरयो। उक्त कमिटीको मुख्य संयोजक गोजमुमो सह-सचिव ज्योति कुमार राईलाई चयन गरिएको छ भने चाड़ै दार्जीलिङ, खरसाङ, मिरिक, कालेबुङमा पनि  महकुमास्तरीय को-अर्डिनेशन कमिटी पनि गठन गरिने आजको सभाले निर्णय लिएको गोजमुमो संयोजिका छिरीङ दाहालले जनाएका छन्।

आजको सभापछि पर्जा-पट्टाको मुद्दालाई लिएर निक्कै सक्रिय देखिएकी छिरीङ दाहालले  पहाड़वासीलाई कुनै अन्योलता वा भ्रममा नपरी जमीनको निम्ति आवेदन गर्ने अपील पनि गरिन्।अपील गर्दा केवल 5 डेसिमलकोमात्रै नभएर ज-जसको जत्ति जमीन छ त्यत्ति जमीनको निम्ति नै आवेदन गर्ने पनि उनले स्पष्ट गरेकी छिन्। लामो समयदेखि किरायामा बस्ने अथवा एउटै पनि जमीन नभएका मानिसहरूको निम्ति निजो गृह निजो भूमि प्रकल्पअन्तर्गत 5 डेसिमल जमीन प्रदान गर्ने तथा जमीन भएर पनि कागजपत्र नहुनेहरूको भने सबै जमीनको नै कागजपत्र उपलब्ध गराउने गोजमुमोको उद्धेश्य रहेको पनि उनले बताइन्।

गोजमुमोले पहीड़वासीको पर्जा-पट्टा दिलाएको खण्डमा पहाड़का अन्य राजनैतिक दलहरूको अस्तित्त्व संकटमा पर्न जाने बुझेर नै अन्य राजनैतिक दलहरूले जनतालाई भ्रममा पार्ने काम गरिरहेको उल्लेख गर्दै उनले भनिन्- 5 डेसिमलको मात्रै पर्जापट्टा दिएर अन्य जमीन सरकारले लाने तथा रोहिङ्ग्याहरूलाई त्यहाँ स्थापित गर्ने जुन कुरा भइरहेको छ त्यो गलत हो। पश्चिम बंगाल सरकारको निजो गृह निजो भूमि प्रकल्पमार्फत जमीन नभएको सुकुम्बासी मान्छेहरूलाई पनि कमसेकम 5 डेसिमल जमीन किनेरै भए पनि प्रदान गरी उनीहरूको घर निर्माण गरिदिएर स्थापित गरिदिने यो एउटा उदार प्रकल्प हो।तर पहाड़को अवस्था बेग्लै छ।यहाँ जमीन नभएका मानिसहरू एकदमै कम छन् जसलाई 5 डेसिमल जमीनको अधिकार दिनुपर्ने आवश्यकता छ।यो प्रकल्पद्वारा जो-जो 5 डेसिमलभित्र बसिरहेका छन् उनीहरूलाई मात्रै यो प्रकल्प योग्यको छ।तर यहाँका धेरै मानिसहरूको जमीन छ, घरबार पनि छ तर कागजपत्र छैन। ती मानिसहरूको सबै जमीनको कागजपत्र प्रदान गर्ने दिशामा हामीले पहल शुरू गरेका हौं।  

छिरीङ दाहालले अझ भनिन्- पश्चिम बंगाल भूमि एवं भूमि सुधार ऐनअन्तर्गत थुप्रैवटा प्रावधानहरू छन् जुन प्रावधानमुताविक जमीन भएरै पनि अहिलेसम्म मालिकाना अधिकार नभएका हाम्रा मानिसहरूलाई उनीहरूको जमीनको पट्टा प्रदान गर्न सकिन्छ। यसैले ज-जसको घर जमीन छ तर कागजपत्र छैन ती सबै जमीनहरूको कागजपत्र प्रदान गरिनुपर्ने माग लिएर अब गोजमुमोले जीटीएसित तालमेल राखेर काम गर्नेछ। यसैले कसैले पनि भूल- भ्रान्ति अथवा भ्रममा नपरी जो-जसको जति-जति जमीन छन् ती सबैको निम्ति पट्टाको निम्त आवेदन गरिदिने हामी अपील गर्दछौं। आवेदन गर्दा सादा पन्नामै पनि आफ्नो विवरण दिएर आवेदन गर्न सकिने पनि दाहालले बताइन्।

मुख्यरूपले चियाकमानलाई लिएर अन्य राजनैतिक दलहरूले निक्कै विभ्रान्ति सृष्टि गरिरहेको पनि उल्लेख गर्दै चियाकमान वासिन्दाहरूको निम्ति पनि उनीहरूको जति भूमि छ त्यतिकै कागज दिलाउने पनि उनले दावी गरिन्।चियाकमानमा पर्जा पट्टा दिनुको निम्ति सर्वप्रथम त्यहाँको जमीन रिजम्सन गराउनुपर्छ भन्ने कुरासित पनि आफूहरू अवगत रहेको बताउँदै अहिले फारम संकलन गर्ने कार्य भइरहेको उल्लेख गर्दै चियाकमानवासीहरूको तर्फबाट सबै आवेदन आएपछि कुन–कुन कमानमा कति मानिसहरू बसोबासो गर्छन् त्यो थाह लाग्ने र त्यसपछि ती जमीनहरूको रिजम्सनको निम्ति जीटीएको तर्फबाट पहल शुरू गरिने पनि उनले बताइन्।

पहिला लालकोठीमा बस्ने मान्छेले यो विषयमा कुरा उठाइदिएनन्, फलस्वरूप हाम्रा मानिसहरू भिक्टिमाइज्ड भए तर अहिले लालकोठीमा बस्ने मान्छेले नै प्रतिवद्धता अनि रूचिको साथ यस विषयमा कार्य गरिरहेका छन्। यसैले गोजमुमोले पर्जा-पट्टा ल्याउने छनक पाएपछि आफ्नो राजनैतिक अस्तित्व खतरामा परेको देखेर पहाड़का अन्य राजनैतिक दलहरूले भ्रम अनि अफवाह फैलाइरहेका छन्। हामीलाई झटारो हानिरहेको छ। तर पर्जा-पट्टा ल्याउनेछौं।केही समय लाग्ला तर हाम्रा मानिसहरूलाई उनीहरूको मालिकाना अधिकार दिलाएरै छोड़्नेछौं, उनले भनिन्।

पर्जापट्टाको मुद्दामा गोजमुमोले कुनै राजनैतिक पक्षपात नगर्ने पनि उनले बताइन्। सबै मानिसहरूलाई नै जमीनको अधिकार चाहिएको हुनाले गोजमुमोले सबै जाति अनि पार्टीका मानिसहरूलाई नठुट्याई कार्य गर्ने बताउँदै यदि कसैले राजनैतिक पक्षपात गर्ने प्रयास गरेको खण्डमा गोजमुमो केन्द्रिय समितिसमक्ष नालिश गरिदिने पनि उनले अपील गरिन्।

 

Related Posts

leave a comment

Create Account



Log In Your Account