प्लास्टिकमुक्त सिंहलीला राष्ट्रिय उद्यान परिसर बनाउने अभियान

प्लास्टिकमुक्त सिंहलीला राष्ट्रिय उद्यान परिसर बनाउने अभियान

प्रतिविम्ब न्यूज

दार्जीलिङ, 5 जून।

कलकत्ताको एक गैर सरकारी संस्था प्रामिया फाउण्डेशनले दार्जीलिङ पहाड़को सिंहलीला राष्ट्रिय उद्यान परिसरलाई प्लास्टिकमुक्त बनाउने माग गर्दै मानेभञ्ज्याङको प्रवेश द्वारमानै जाँच केन्द्र राख्नुपर्ने माग उठाएको छ।

सन्दकफू क्षेत्रमा फालिएका बोतलहरू

प्रामिया फाउण्डेशनले पर्यावरण दिवसको छेक पारेर गत 1 जूनदेखिनै सिंहलीला राष्ट्रिय उद्यान परिसर इलाकामा जताततै फ्याँकिएका प्लास्टिकहरू संग्रह गर्न शुरू गरेको थियो, जसले 4 दिनको अवधिमा लगभग 60 किलोग्राम प्लास्टिक संग्रह गरेको थियो। जसलाई यस संगठनका प्रतिनिधिहरूले दार्जीलिङबाट अन्यत्र लगेर यसलाई रिसाइकल गर्ने योजना बनाएको संगठनका म्यानेजिङ ट्रस्टी मुकुट विश्‍वासले जानकारी गराए। उनले भने-सिंहलीला राष्ट्रिय उद्यान देशकै एक सम्पदा हो, यहाँको पर्यावरणलाई स्वच्छ राख्न अत्यावश्यक छ। यलैलाई ध्यानमा राखेर संगठनले गत 1 जूनदेखिनै यस इलाकामा फ्याँकिएका प्लास्टिकहरू संग्रह गरेको हो। यसका साथै उनले सिंहलीला राष्ट्रिय उद्यान परिसरलाई पूर्णरूपले प्लास्टिकमुक्त बनाउनको लागि मानेभञ्ज्यासँगै धोत्रे र गोर्खेमा पनि प्रत्येक व्यक्तिको जाँच गर्न शुरू गर्नुपर्ने माग गरेको छ। ताकि सन्दकफूतर्फ जाने कसैले पनि प्लास्टिक लान नपाओस्।

हाल सन्दकफू इलाकामा विशेष पर्यटकहरूलेनै प्लास्टिक लगिरहेका छन् अनि प्लास्टिकमा बोकेका सामानहरू समाप्त भएपछि ती प्लास्टिक जता पायो, त्यतै फ्याँक्ने गरेका छन्। यसैले प्लास्टिक संग्रह गर्ने क्रममा बेसी जस्तो पानीको बोतल, मादक पदार्थहरूको प्लास्टिक, गुट्खा, प्याकेट फूडका प्लास्टिकहरू फेला परेका छन्। जसले सन्दकफू तथा यस इलाकाको पर्यावरणलाई हानी पुर्याइरहेको छ। यसैले यस क्षेत्रलाई प्लास्टिकमुक्त क्षेत्रको रूपमा घोषणा गर्नुपर्छ। यसबारे उनले दार्जीलिङ जिल्ला प्रशासन साथै राज्य सरकारसमक्ष पनि अपील गरेका छन्। यति मात्रै होइन, यस गैर सरकारी संस्थाले सिरीखोलाको पुललाई पनि शीघ्र मरम्मति गर्नुपर्ने माग गरेका छन्। ताकि यस पुल भएर ओहोर-दोहोर गर्ने पर्यटक अनि स्थानीय जनतालाई सुविधा पुग्न सकोस्। यसका साथै संगठनले आगामी केही समयपछि सिंहलीला राष्ट्रिय उद्यान परिसरलाई प्लास्टिकमुक्त बनाउनको लागि मानेभञ्ज्याङ र धोत्रेमा सचेतना कार्यक्रमहरूको आयोजना गर्ने पनि विश्‍वासले बताए।

 

Related Posts

leave a comment

Create Account



Log In Your Account